~असिम सागर~
महोदय,
तिमीले
सुँघ्दैमा मेरो बास्ना रित्तिन्न
तिमीले छुँदैमा मेरो सौन्दर्य
मर्दैन
तिमीले चोर्दैमा
मेरो मुस्कान चोरिन्न
मन्दिरमा जो-जो जान्छन्
मलाई होइन,
मेरो लाश लिएर जान्छन्
र
भगवान् सम्झेर चढाउँछन्
जब ढुंगालाई
म उम्रेको माटो मेरो हुन्न
म फुलेको बोट मेरो हुन्न
मैले सजाएको देश मेरो हुन्न
महोदय,
सुनगाभा फुल्ने ठाउँमा लालीगुराँस नफुल्ने
हल्लाले
सयपत्री फुल्ने ठाउँमा
गोदावरी नफुल्ने हल्लाले
मेरो निद्रा बिथोलिरहेछ
र आँखामा नाचिरहेछ
सम्भावित
एउटा महासंग्राम
त्यसैले महोदय,
मेरा लाशहरूको फोहोर
थुप्रिनुअघि
रगतको आहालमा
देश डुब्नुअघि
मेरा हाँगाहरू काट
र
लाठी देऊ अन्धाहरूलाई
मेरा पातहरू टिप
र
टपरी देऊ भिखारीहरूलाई
मेरा हाँगाहरू भाँच
र
बार लगाऊ
यो देशको सिमानामा
मलाई चुँड
र बाँड ती मलिन अनुहारहरूलाई
मेरो मुस्कान
जो रुँदारुँदा हाँस्न बिर्सेका छन्
रंग देऊ
ती खुइलिँदै र हराउँदै
गएका टोपीहरूलाई
जसले
अचानोबाट थुतेर बचाउन
खोज्दै छन् देश ।