~रामचन्द्र खतिवडा~
बिर्खरामले २०६२–६३ को आन्दोलनमा जोडतोडले सहभागिता जनाए । जनताहरू निरङ्कुश शाही सत्तालाई याँकेर देशमा गणतन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएका थिए ।
बेरोजगार बिर्खराम पनि गणतन्त्रपछि त हामीले पनि जागिर पाउँला, सुखको जीवन बिताउँला भन्दै आन्दोलनको मोर्चामा सहभागी भए । उन्नाइस दिनसम्मको आन्दोलनले शाही सत्ता ढल्यो ।
गणतन्त्र आयो, तर विचरा ! बिर्खराम गोली लागेर घाइते भए । उनलाई उपचार त गरियो तर उपचारपछि कामै नलाग्ने गरी अपाङ्ग बने उनी । गणतन्त्रपछि नेताहरू मोजमस्तीको जीवन बाँचे । बिर्खरामको भने सपना सबै हावाले उडायो । उनी घरघरमा मागेर खान विवश बने । अहिले देशको दुर्दशा देख्दा उनी सोच्छन्– “गणतन्त्रका निम्ति बेकार लडाइँ लडिएछ ।”
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)