~न्हुछेरत्न बुद्धाचार्य~
चौवीस सय वर्षअघि देखि म
ख्वप्रिङ्ग नामले प्रसिद्ध थिएँ
सबैको आस्थामा थिएँ, हृदयमा थिएँ
भक्तपुर नामले मलाई परिचित गराउने
आनन्द मल्ल !
इँट बोकेर पाँचतले मन्दिर निर्माण गर्ने
श्रमको इतिहास सिर्जना गरेर
मजबुट कलाकृति, धार्मिक, सम्पदाले
मलाई विश्वमा प्रसिद्ध गराउने
भूपतिन्द्र मल्ल !
झल्कियो सुनको ढोकामा
रणजित मल्लको कला प्रेम
दूरदर्शिता देखियो मेरो सुरक्षा गर्न
चारैतिर पर्खालले घेर्ने यक्ष मल्लको।
समेटियो विश्व प्रसिद्ध मयुरझ्यालमा
श्रमिक कलाकारहरुको कला प्रदर्शन
बचाई राख्यो लिच्छिविकालीन संस्कृति
मेरो सांस्कृतिक नगरका परिश्रमी कृषकहरुले।
कति फूर्तिलो देख्दछु कालो टोपी पहिरन गर्नेहरु
कति स्वस्थ देख्दछु ‘जुजुधौ’ को स्वाद चाख्नेहरु
आउँछन् विश्वका पर्यटकहरु मेरो आँगनमा
मोहित हुन्छन् पचपन्न झ्याल अवलोकन गरेर।
प्रत्येक टल्केका गजुरहरुभित्र
ऐतिहासिक प्राचीनता झल्किरहन्छन्
हरेक गल्लीभित्र मेरो रमणीय चोक छ
जहाँ लोकगीत, लोकनाच प्रदर्शन हुन्छ।
छोपिएको थियो हिजो यहाँ अँध्यारोले
ल्याएको थियो जनसेवकहरुले उज्यालो
अहिले म प्रगतिपथमा लम्किरहेको छु
सामाजिक परिवर्तनको जागरणतिर बढिरहेको छु।
नाचगानको सहर भनेर चिनिन्छ विश्वमा
एक ऐतिहासिक प्राचीन नगरले परिचित हुँ म
नौलो सिर्जना, नौलो अभियानको आह्वानले
गुञ्जिरहेको बस्ती, म भक्तपुर हुँ ।
(स्रोत : मजदुर दैनिक)