कविता : कविताको हत्या

~बीजे विद्रोही राई~bj-bidrohi-rai

कविता ! कविता !! कविता !!!
के कविता ? कस्तो कविता ?? किन कविता ??
म मेरो कविताको हत्या गर्न चाहन्छु
म मेरो कवितालाई उखेलेर फाल्न चाहन्छु
जो हृदयको वृन्दावनमा उम्रेर पनि
देउराली भञ्ज्याङमा उम्रन सकेन

पोर्नस्टार सन्नी लियोनको चर्चा गरेर
वेबसाइटले टेलिभिजनले नाम र दाम कमाएझैं
मेरो कविताले पनि मेरो मातृभूमिको
नाङ्गो कथा बेचेर मलाई सेलेब्रेटी बनाइरहेछ ।
मेरो देशको वक्षस्थल दार्चुला प्रकृतिले
उघारेर बलात्कार गरी वक्षस्थलभरि
तेजाब छरेर गयो
त्यो वियोगान्त मात्र कविता, कथा, गजल
गीत, अनि हटन्यूज बन्यो
तर छोप्न सकेनन् त्यो चहराएको घाउ ।
मेरो कविताको वाह ! वाह !!
बटुल्न त्यस्ता घाउ खोज्दै फोटो खिचिहिँड्छ
अनि खोज्छ सेलिब्रेटी बन्ने दाउ ।

हाङदेवा घाउको नक्सा बेचेर
मेरो कविता मालामाल भयो
तर हाङदेवा दोष बोकेर उभिरह्यो ।
सप्तकोशीको फन्कोभित्र बेरिएर मधेस पिलित्तै सोरियो
यस्ता मौकामा पनि मेरो कविताको नक्सा बेचेर मालामाल भयो
पीडाको कोष उल्टी गर्दै सांसद भवन धरहरामा चढेर
दार्चुलातिर फर्केर सम्बोधन गर्छ ।
कृष्णभीर केवल गीत बनेको छ ।
डेढकोटि जनतालाई छेकेर बर्खे भेलबीच
महँगा नूडल्स ख्वाउँछ ।
त्रासको महासागरमा डुबाएर राख्छ
अनि त्यही कृष्णभीर
गीत बन्छ, गजल बन्छ, कविता बन्छ
सालौसाल दखिरहने पीडामा
मल्हमपट्टी हैन एउटा प्रहसन बन्छ
म तिनै कृष्णभीरमा महँगो नूडल्स हप्तौंहप्तासम्म
खाएर ‘कृष्णभीर’ कविता लेख्छु
अनि वाह ! वाह !! कमाउँछु
म त्यही कृष्णभीर गीत बनाएर नाच्छु
वाह ! वाह !! बटुल्छु
दरबारको नर्तकी बन्छु पटक–पटक
मेरै मातृभूमिको पीडा बेचेर ।

यो मेरो कविताको प्रारुप कुनै वेबसाइटमा
पोर्नमूभि खोतल्दै हेर्छन् महाशयहरु
त्यस्तै ठ्याक्क भएकोले
म मेरो कविताको अन्त्य गर्दैछु ।
किनकि यो देश, यो मातृभूमि कसैको नाङ्गो गीत हैन
यो देश कसैको प्रहसन हैन
यो देश कसैको चम्पाकली र फूलमाया हैन
जो मनभरि जिस्काउन मिल्ने
अनि तनभरि मुत्न मिल्ने

मेरो कविताले अति मुत्यो यो देशमा
मेरो कविताले अति जिस्कायो यो देशलाई
तर भर्न सकेन हाङदेवा,
तार्न सकेन आँसुको सप्तकोशी
अनि छर्न सकेन नवमल्लिका
दार्चुलाको कोतरिएको घाउभरि
त्यसकारण यो कविता केका लागि ?
तसर्थ आजैदेखि
मेरो कविताको हत्या गरेको छु ।
किनकि
प्रयोजनविनाका स्तम्भहरु केका लागि ?
जमिन ओगटेर मरुभूमि फैलिएसरि
बृहत वा अजंग बन्नु केका लागि ?
नदी पिएर फैलिएको सागरसरि ।
तसर्थ
प्रयोजनविनाको मेरो कविताको हत्या गरेको छु ।

बीजे विद्रोही
भोजपुर, हालः इजरायल

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.