~बलराम तिमिल्सिना~
कमरेड कमाउ हँसिलो छ अचेल
रसिला कुरा गर्छ प्राय सवैसँग
उसको लागि यही पार्टी महान छ
महान छन प्राय सवै नेताहरू
ऊ प्राय आफ्नै लालपूर्जा भएको घरमा बस्छ
ऊ प्राय आफ्नै व्ल्युुवुक भएको चारपांग्रेमा चढ्छ
प्राय सुट टाईमा ठॉटिएर हिड्छ
उन्नति प्रगति र पदोन्नती धडाधड भएका छन
दुई चार वटा परियोजनामा लगानी गरेको छ
दुई चार वटा वस्तुको गुप्ती व्यापार पनि गर्छ
अड्डा गौंडा सवैतिर आफ्ना मान्छे वनाएको छ
ऊसँग कुनै चिन्ता छैन भविष्यको
छ त अलिकति चिन्ता छ :
पार्टी सप्रिने हो कि र वन्ने हो कि लाटाबुंगाहरूको
समाज बदलिएर र खुलाउँनु पर्ने दिन आउने हो कि
आम्दानीका वदनाम श्रोतहरू
*****
अर्कोतिर छ कमरेड गुमाउ
धुस्रो फुस्रो छ चेहरा
खस्रा छन वोलीवचन उसका
उसको लागि यो पार्टी वेकार भएको छ अचेल
नेताहरू क्रमश:नचिनिने हुन थालेका छन
नेताहरू संझ्यो कि रिस मात्रै उठ्छ उसलाई
नेताहरूका घर बुझ्दै हिडेको छ ऊ
नंबर टिप्दै हिडेको छ चार पांग्रेहरूको
ऊसँग कुनै घरको लालपूर्जा छैन
न त छ कुनै व्ल्युवुक भएको चारपांग्रे
श्रीमतीले दाह्री काट्न भन्दा पनि
प्राय झर्कने गर्छ ऊ
उसलाई चिन्ता छ :
कतै यो पार्टी मिस्टर कमाऊहरूकै त हुने हैन ?
कतै उसले कुनै अप्रिय निर्णय त लिनु पर्ने हैन ?
कमाउ कमरेडलाई कसैले थाहा पाउलान भन्ने डर
जिन्दगीभित्रको जिन्दगी
गुमाउ कमरेडलाई पनि चिन्ता छ
ऊभित्रको ऊ कसैले नदेख्ला भन्ने
किन कि प्राय कमरेडहरू सोध्दैनन अचेल उसलाई
उसले के खायो ? कहॉ वस्छ ?
छोराछोरी कसरी पढाउँछ ?
तर सिरपुच्छार सोधेको देख्छ जव
कमाउ कमरेडको वारेमा
किन कि हिजोआज नेताहरूलाई टिकाउँने
उही कमाउ कमरेड न हो
प्रिय मित्र !
तिमी कतापट्टीको ?
कमाउ कि गुमाउ ?
२०७२/११/०९
(स्रोत : एभरेष्ट दैनिक डट कम)