गीति कविता : ओखरबोटे कान्छी

~कृष्ण वस्ती~Krishna Wasti_1

हिजोसम्म मेलापात, बजार सँगै जान्थी ।
आजभोलि तर्किहिंड्छे, ओखरबोटे कान्छी ।।

तोरीबारीजस्तो रुप, हेरिरहूँजस्ती ।
पर्वतलाई नदीलेझैं ,घेरिरहूँजस्ती ।।
आजभोलि छेउमा गए, भुर्रै उड्छे पन्छी ।
सोझो कुरा गर्न छोडी, ओखरबोटे कान्छी ।।
हिजोसम्म……

गट्टा खेल्दा ठट्टा होइन ,मेरो माया भन्थी ।
आफू बसी तातो घाममा ,मलाई छाया दिन्थी ।।
आजभोलि सबै कुरा,होइनजस्तो ठान्दी ।
सोझो बाटो हिंड्नै छोडी ,ओखरबोटे कान्छी ।।
हिजोसम्म……

मौका छोपी खेलाउँछे, बिरालाको न्याउरो ।
हेर्न मन लाग्छ अरे,जुरेलीको पिउरो ।।
हिजोजस्तो छैन अब,बोलीचाली-बान्की ।
सोझो कुरा बाङ्गो बुझ्छे ,ओखरबोटे कान्छी ।।
हिजोसम्म…….

केको याद आयो खोलो ,पोखरीमा खस्दा ,
डालीमाथि जोडी मिली ,मैनाचरी बस्दा ?
आफैंसँग शर्माएर, मुस्कुराउँदी पन्छी ।
बाङ्गो कुरा बुझ्न थाली, ओखरबोटे कान्छी ।।
हिजोसम्म……

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.