~किरण थेबे लिम्बू~
मैले साँचेको सपनालाई
विपनाले भाँचे पछि
भो, देख्तिन, अरु झुटा सपनाहरु
म, विपनामै ठगिए पछि,
म हिँडेको समयलाई
विगतले टेके पछि
भो, फकिन्र्न त्यो बुढो अतीतमा
मैले भोलिको बिहानी पाए पछि,
मैले चाहेकी प्रेयसीलाई
पैसाले किने पछि
भो, चाहिएन ती हिरा–मोती
म, आफै मुल्यहीन भए पछि,
मैले हाँसेका मुस्कानहरु
आँसुले पखाले पछि
भो, अब हाँस्दिन पागल जस्तै
सबै खुसीहरु रोए पछि,
मैले पूजेको देवतालाई
पापीहरुले लुटे पछि
भो, अब धाउँदिन मठ–मन्दिर
हृदय भित्रै ईश्वर भेटे पछि,
म बाँचेको अतीतले
वर्तमानलाई थिचे पछि
भो, बाँच्दिन यी घाईते दिनहरु
मैले भविष्यसँगै मर्न पाए पछि,
(ग्रेश, बेलायत)
(स्रोत : सत्यतथ्य मासिक वर्ष १, अंक १२, अगस्ट २०१२)