~रश्मिला कवाङ ‘रश्मि’~
पारिलो किरणका ओसिला रेखाहरु
झिस्मिसे उज्यालो संगै काला मडारिएका
सेताकाला वादलबाट उकुसमुकुस संगै तेर्सिएका
तिम्रा आशाका सुनौला दिपशिखाहरु
पक्कै पनि सपनाका सुन्दर संवाहक होलान्
अरन्यरोदनमा रुमल्दै रुमल्दै बढेका होलान् पथहरु
सायद कृतिम स्वार्थ पुर्ण युगमा पटकपटक दोहोरिए पनि
आफू हुनुको विशुद्ध मन्त्र बोकि हिड्दै होलान्
तिम्रा जिजिबिशा हरु सामाजिक कुसंस्कार को धमिरामा ओझेल हुँदै
आफन्तको मुखौटाको धारिलो शिकार पनि भए होलान् चित्त
गिद्धे नजर्ले पोल्दा होलान् मनहरु
र त संघर्षका तेजिला किरणहरु जस्तै सफलीभुत भयौ
गोमन साप ले लुछे पनि जंघारहरु तरेर यायावर गर्न तम्सियौ
मानव बस्तिमै वनवास बसयौ कलियुगको राम जस्तै
तैपनि ती निमुखा ,दरिद्र का दरिलो खम्बा बन्न पछि हटेनौ तिमी
रोग, भोक अनि नियति ले चुटेको मनहरु स्पर्श गर्न सफल भयौ
ती चाउरिएको अनुहारमा एक मुठी श्वास भरी मुस्कान चर्यौ पनि
स्वयं लाई लत्याएर परसेवा निम्ति जीवन आहुती दियौ पटक पटक
र पनि मुस्कुरायौ सामाजिकताको कुरुप जालोमा जगडिएर पनि
साच्चिकै ! तिम्रा ती ओसिला रेखाहरुमा कसैको नजरले देखेनन है?
न त तिम्रा आला तात्तो घाउहरुको आर्तनाद नै
देखे त केवल ती पारिलो किरण का न्यानोपनहरु
मुटु चर्केर छिटाछिटा भएका छिर्काहरु न त कसैले महसुस नै गरे…
रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )