~प्रतिमान सिवा~
परिक्षामा मास्टरले टक्टक्याएको भाटा झै,
रजस्वलामा आमैले बोकेको टाटा झै,
दिन प्रतिदिन गर्दै
मनका पानामा उब्जेका
कलुषित भावनाहरु,
बैरिहरुले हर्षमा देखाएका शान्तावनाहरु
लत्पतिएर पोतिएका दागहरु
मेटाउँदा मेटाउँदै
भित्ताका पानाहरु सँगै
स्मृतिका पानाहरु
प्रतेक महिना पल्टाउँदा-पल्टाउँदा
नयाँ प्रतिबद्धताहरु सँगै
पुराना कम्जोरिहरु बोकेर
गयो बृद्ध २०१६ साल,
र
आयो २०१७ – नयाँ साल ।
नयाँ साल पनि खासै नयाँ लागेन !
उही दिन, उहि रात,
उही म्यासिन, उहि दर र घर,
एकाध शुभकामना बाहेक अरु केहि भाकेन ।
योजनाहरु सबै फुलेर परियोजना भए,
हुनु नहुनुको औचित्य तेतिकै रहे ।
बरु,
हिँजो भन्दा आज
दुइवटा बडी कपाल पाक्यो,
चाउरीन थालेको मुहारमा
सर्वाङ्ग मुजाले ढाक्यो ।
“चिरन्जिबी भएस्” भनेका आयु
दुई पल अरु घट्यो ।
प्रतिबद्धताहरु,
वाद्ध्यताहरुले चेप्टिएर,
अमुर्त चित्रकलाका रेखाहरुझैं
आकृतिको अड्कल गर्नु पर्ने भो ।
पोर साल भित्तामा आएको,
नववर्ष २०१६ साल्,
भित्तामै बुडो भएर गयो,
फेरी नववर्ष २०१७ लाई
भित्तो हस्तानन्तरण गर्दै बिलायो ।
आज प्यारो लागेको जिवनपनि
भोली त्यसै गरी बिलाएर जाने हो,
दुई-तीन दिनको शान्तावना सेवा,
एकाध श्रद्धान्जली र
दुई-चार आँसुका तप्कनीहरु बाहेक्
कसैलाई केहि फरक पर्दैन कतै ।
तेसैले तपाईलाई पनि,
शुभकामना नववर्ष २०१७ सालको ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )