छन्द कविता : शार्दूल-सञ्चारिणी

~कनकधारा स्वामी स्वदेशानन्द~kanakdhara-swami-swadeshanand

छन्द : शार्दूलविक्रीडित

मर्स्याङ्दी तटमा हिमालमनिको सानो छहारीमनि
गौरी,माधव,शान्ति,कान्ति कलिला हाँस्थे र बाँच्थे पनि।
आयो काल लग्यो लग्यो परपरै अल्पेर गौरी गईन्।
गौरीको शवदेखि दिव्य रचना जन्मेर ‘गौरी’ भईन्।।01।।

गौरी माधवकी, कथा विरहकी, साहित्यकी सुन्दरी।
‘गौरी’ प्रेम गरेर हृत्कमलमा राख्दैछु जैलेघरि।
‘गौरी’का सँग हाँस्छु,रुन्छु कहिले नाचेँ र गाएँ पनि।
‘गौरी’ले नवजीवनी भरिदिईन् सिर्जेर संजीवनी।।02।

‘गौरी’ले ममता सधैं गरिदिईन् खाँचो छ के भावको?
‘गौरी’ छिन् मुखमा तथा हृदयमा खाँचो छ के शव्दको?
गौरी-माधवको व्यथा अनि कथा साहित्य-संसारमा
गाइन्छन् जहिल्यै भए अमर यी भन्दैछु भन्दैछु म।।03।।

‘गौरी’ नै गुरु हुन् ममाथि उनको ठूलो कृपा भैगयो।
‘गौरी’ले करमा, बसेर दिलमा लेख्नेगरेको छ यो।
‘गौरी’ भाव र शव्द हुन् सकलकी साहित्य-सौदामिनी।
‘गौरी’ लेखककी तथा रसिककी शार्दूल-सञ्चारिणी।।04।।

‘गौरी’मा गर प्यार लेखकहरू! साहित्य सप्रन्छ है।
‘गौरी’मा गर शोध लेखकहरू! भाषा-सुधा हुन्छ है।
‘गौरी’मा करुणा र प्रेमपथको आलोक पाइन्छ है।
‘गौरी’ सिर्जनकी अजस्र जननी चाहिन्छ चाहिन्छ है।।05।।

लेख्ने चाह भए परी शरणमा ‘गौरी’ पुकारे तिमी!
भन्ने चाह भए तुरुन्त मनमा ‘गौरी’ जगाए तिमी!
‘गौरी’ शव्द र भाव व्यक्त बनिँदै उर्लन्छ उर्लन्छ है!
‘गौरी’ पाठ गरी ‘स्वदेश’ कविता गर्जन्छ गर्जन्छ है।।06।।

रचनाकालः 21 नोभेम्बर 2016
समय 02 बजे बिहान
स्थानः मालीगाउँ, गुहाटी, असम(भारत)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.