~अशोक अधिकारी~
‘जाने क्युँ लोक दोस्तको भूल जाते हे, सायद लोक सचही केहे ती हे सागर मिल्ने पर लोक बारिस भूल जाते हे । खाली तिम्रो यादले सताउँछ, आई डन्ट नो, ह्वाई ?’ गएको बुधबार मैले धेरैपछि आफ्नो दैनिकी लेख्ने डायरी पल्टाएँ । दिनभरको पारिवारिक तनावलाई डायरीमा पोख्नुप¥यो भनेर डायरी खोलेको मेरो आँखा सबैभन्दा पहिले माथि प्रस्तुत एसएमएसमा पुग्यो । ३१ डिसेम्बर २००९ मा मेरो मोबाइलमा आएको यो एसएमएस मैले त्यसै दिन डायरीमा टिपेको थिएँ । यो एसएमएस मेरो एक विशेष मित्रले पठाएकी थिइन् । उनको नाम हो, निशा । कुनै समय स्कुलमा पढ्दा चिनेकी उनी आज डायरीका पाना र सम्झनामा सीमित मात्र छैनन् उनका कर्मपथमा लागेका ठक्करले बेलाबेला झस्काउँछ ।
सन् २००४ तिर मावि तहमा पढ्दा चिनेकी उनीले पठाएको यो ‘सेकेन्ड लास्ट’ एसएमएस हो । त्यसको करिब ४ सातापछि अर्थात् २४ जनवरी २०१० मा एउटा एसएमएस आएको थियो । लेखिएको थियो – ‘आइ एम एट एयरपोर्ट आशा छ । तिमीसँग फेरि भेट्न पाउँ टेक इट इजी, टेक केयर बाइबाई ।’
अहिले यो एसएमएस सन्देशले मलाई आम युवाहरूको अवस्था, किशोरमा हुने प्रेम र त्यसको परिणाम सम्झाइरहेको छ । हुन त, मावि तहमा पढ्दा भेटिएको एउटी केटीको बारेमा यहाँ उल्लेख गर्न आवश्यक थिएन । तर, युवाहरूको आवेग र महत्वाकांक्षाले निम्त्याउने समस्याको परिणाम कहिलेकाहीँ तीतो अतीत बन्न पुग्छ, तसर्थ पेस गरेको हो ।
विद्यालयमा उनीसँग खासै बोलचाल थिएन । लजालु पाराकी उनको बोली सुन्न पनि विरलै पाइन्थ्यो । यदाकदा जिस्क्याउँदा बोलाउँदा अनायसै हाम्रो मनोभावना मिल्न पुगेछ । क्रमशः हामीबीच साथीबाट विशिष्ट साथी वा प्रेमीका रूपमा सामीप्यता बढ्दै गयो । पारिवारिक समस्यादेखि व्यक्तिगतसम्मका समस्या आपसमा साटासाट हुन्थे । भेटघाट पनि अलि बाक्लिँदै थियो । साथीहरूले जिस्क्याउनेदेखि भविष्यको योजनासमेत हामीले बुन्ने गथ्र्यौं ।
जीवन जिउने सवालमा मान्छेलाई हरेक तरहले सहज हुँदैन । मित्रता बढेको दुई वर्षसम्म त ठिकै थियो । तर, त्यसपछि उनको आनीबानी, विचार, व्यवहारमा फरक पाउन थालेको थिए । उनको आर्थिक उपार्जनको महत्वकांक्षा क्रमशः बढ्दै थियो । मैले आर्थिक केही होइन, नैतिकता र आचरण जस्ता कुरालाई मान्छेले वशमा राख्नुपर्छ भन्दा कहिलेकाहीँ लामो समयसम्म तर्कवितर्क पथ्र्यो । त्यसै क्रममा एसएलसी परीक्षापछि ००६ मा काठमाडौं गएकी उनीको जीवनमा आएको उचारचढाव देखेर म यतिबेला केही बन्न सक्ने अवस्थामा छैन । मान्छेको महत्वकांक्षाले कति दुःख भोग्नुपर्छ भन्ने उदाहरण बनेर बसेकी उनलाई गएको हप्ता देखेपछि मलाई उनको स्मरण भएको हो ।
काठमाडौंको बसाइ र त्यहाँको वातावरणसँग जुध्न जो कसैलाई गाह्रो हुन्छ । मामाघरमा बसेर पढ्ने उनलाई पनि यदाकदा समस्या आउन थालेका थिए । कहिलेकाँही फोनमा कुरा हुँदा धेरैबेरसम्म रुन्थिन् उनी । उनको रुवाइमा गहिरो चोट महसुस हुन्थ्यो, कारण अर्कै रहेछ ।
मामाघर बसाइका क्रममा आफन्तको करकापले उनले मकवानपुर जिल्लाको धनी परिवारको केटासँग विवाह गरिछन् २००८ को नोभेम्बरमा । तर, धनसम्पति, मोटरसाइकल र गरगहना नदिएको भन्दै सासूले बेस्सरी गाली गर्न र उनका पतिले पनि कुट्ने गरेको उनका आफन्तले सुनाउँथे ।
करिब ५।६ महिनापछि उनीहरूको सम्बन्ध धमिलिन थालेको रहेछ । त्यसबीचमा कहिलेकाहीँ फोनमा कुरा हुँदा ‘समस्यामा छु, म फसाइएँ, तनावमा छु’ मात्र भन्थिन् । झापा आएका बेला उनले आमाले दिएको पैसाले राहदानी बनाएर विदेश जाने प्रक्रिया सुरु गरिसकेकी रहिछन् । र, कुवेतका लागि उड्ने बेलामा उनले अन्तिम एसएमएस पठाएकी रहिछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एसएमएस सन्देश पठाएपछि फेरि उनको त्यो नम्बरमा फोन कहिल्यै लागेन । ‘माफ गर्नुहोला तपाईंले सम्पर्क गर्न खोज्नुभएको फोनको स्वीच अफ गरिएको छ ।’ कहिलेकाहीँ मान्छेका सपना नियतिले भताभुंग पार्दाेरहेछ । कुवेतमा त्यसैको सिकार भइन् निशा । उनकी आमालाई कहिलेकाहीँ भेट्दा सोध्थेँ उनको बारेमा । सबै ठीकै छ, चार महिनाको ६० हजार पठाएकी थिई, ऋण ति¥यौं’ भन्ने जवाफ पाएको थिएँ ।
तर, कुवेत बसाईको छैठौ महिना उनका लागि जीवनमै ठूलो अभ्यास र विस्मतको महिना बन्न पुगेछ । उनी काम गर्ने कारखानामा विद्युुत सट भएर दुर्घटना हुँदा भाग्ने क्रममा इलिभेटरमा च्यापिँदा उनीलगायत ३५ जना नेपाली कामदार गम्भीर घाइते भएछन् । कुवेतको मुवारक अलकवीर प्रान्तको ग्रामीण क्षेत्रमा रहेको तयारी पोसाक उत्पादन गर्ने कारखानाले उनलाई जीवनमै नमेटिने चोट दिएछ ।
अर्धचेत अवस्थामा रहेकी उनले आमासँग भनिन रे ‘दश तलाबाट मुनि आउन इलिभेटर चढेका थियौं, होस आउँदा हस्पितलमा थिएँ, तर मेरो हात खट्टा काम गर्ने अवस्थामा थिएनन् । अहिले उनीसँग पहिलेका जस्ता सपना छैनन् । तिर्सना छैनन् । बिहान बेलुका आमाले खुवाइदिएको खाना खाएर ओछ्यानमा लडिरहेकी छिन्, शरीर उठ्दैन । टाउको जता फर्कायो, त्यतै रहन्छ । जसोतसो आमाले उपचार खर्च जुटाइरहनुभएको रहेछ । तर, अब छोरीको आश कुनै दिशाबाट पनि ती आमालाई छैन । उहाँ यति मात्र भन्नुहुन्छ, ‘हेरौं कहिलेसम्म हो, सुन्दर जीवन सुतेरै बिताउने भई, खै अब कहिलेसम्म हो ।’
(स्रोत : श्री रुपरेखा)