~डा. दीनबन्धु शर्मा~
जब साउनमा झम्म बर्खे बादल बर्सियो
धर्ती शीतल भो शान्त अनि आकाश उघ्रियो
त्यसै बेला बलेनीमा व्यथा लाग्यो कठै बस्यौ
अनि पीडा खपी हाँस्यौ जन्मेँ म जननी भयौ
अन्न पानी तिमीभित्रै प्रेमको भव्य सागर
त्यो पाठेघर आमाको त्यो मेरो सुनको घर
छोडी बाहिर पो आएँ रोएँ सातो गयो हरि
फुल्यायौ मुटुमा टाँसी सिकायौ हाँस्न सुस्तरी
ताते ताते दियौ हिँड्ने दिनकै नित्य तालिम
मिठो भाषा सिकाएर ल्यायौ सभ्य समाजमा
मेरो जीवनको ऊर्जा आमाको दुग्धधार हो
मेरो जीवन के भन्नु आमाकै उपहार हो।
झरी बादलकी छाता छहारी उग्र घामकी
गयौ नि टुहुरो पारी भयौ परमधामकी
अब नेपाल आमामै तिम्रो रूप म देखुँला
तिम्रो भारा नि नेपालै आमालाई बुझाउँला।