~भीमप्रसाद काफ्ले ‘शान्तिप्रेमी’~
म शिथिल भएको छु
लामो समयदेखि,
केवल सासमात्र बाँकी छ
उपचार त अब आशमात्र ।
हे
मेरा प्राणपुत्रहरू, सुसारेहरू !
तिमीलाई भय छैन मातृत्वको –
जुन समाप्त हुने खतरामा छ ।
छौ तिमी वैद्य पनि,
खै उपचार – म छटपटाइसकें,
आग्रह गरी थाकिसकें
अब केवल तिमीहरूबाट
बिदा हुन मात्र बाँकी छ ।
यदि मेरो अनुकम्पा र उपस्थिति
आवश्यक ठान्छौ भने,
जगाओ मलाई !
गर उपचार मेरा प्रत्येक अङ्गको ।
शिर स्वाभिमानविहीन भएर झुकेको छ,
निधार तिमीहरूबीचको द्वन्द्वले दुखेको छ,
आँखा घरको अवस्था देखेर रसाएका छन्
नाक बद्नामीले खुम्चिएको छ,
अनुहार पीडाले मलिन छ,
छाती यसै शिथिल छ,
हात ऊर्जाहिन भएका छन्
खुट्टा गन्तव्यविहीन छन् ।
हे
मेरा रक्षकहरू !
पहिला
मेरो स्वाभिमान उँचो बनाऊ,
आफू-आफूबीचको द्वन्द्व घटाऊ,
घरको अवस्था सुधार,
बद्नामी सुनामले जित,
अनि,
मेरो अनुहार चन्द्रमुखी हुनेछ,
छाती पनि फुल्नेछ,
हातहरू सक्रिय हुनेछन्
खुट्टा गन्तव्यतिर कुद्नेछन् ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)