~मोहनराज शर्मा~
१. विषयप्रवेश : सांस्कृतिक रूपान्तरणको आवश्यकता
यस युगको वर्तमान समयमा पनि डरलाग्दो आतङ्कवादको बिगबिगी कायमै छ । जहींतहीं अवाञ्छित हमला, हिंसा र युद्धको कालो छाया फिंजिएको छ । वातावरणमा आणविक तथा जैविक शस्त्रास्त्रको सन्त्रास व्याप्त छ । उर्लदो भूमण्डलीय जनघनत्वले कहालीलाग्दो कहर सिर्जेको छ । अभूतपूर्व वातावरणीय परिवर्तनले अनेक सङ्कट निम्त्याएको छ । नयाँनयाँ आर्थिक एवम् सामाजिक चुनौतीहरू विकराल मुख बाएर खडा छन् । यस तरहको विनाशकारी स्थितिबाट मुक्ति र त्राण पाउनाका लागि सांस्कृतिक रूपान्तरण आवश्यक छ । अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय अर्थात् विश्व स्तरमै यसको अपरिहार्यता देखापरेको छ ।
त्यसो त अहिले पनि विश्वमै सांस्कृतिक रूपान्तरण चलेकै छ । यो पाश्चात्य मुलुकहरूमा मात्र होइन पूर्वीय र अन्य मुलुकहरूमा पनि घटित भइरहेको छ । यसको जति तीव्रता र सघनता पश्चिमेली देशहरूमा देखिन्छ त्यति पूर्वेली र अन्य मुलुकहरूमा देखा परेको छैन । उपनिवेशवाद, भूमण्डलीकरण, सञ्चारको विकास, यातायातको विस्तार, आधारभूत संचरनाको निर्माण, सैन्यविस्तार आदिलाई सांस्कृतिक रूपान्तरणमा गतिवृद्धि गर्ने शक्तिहरू मानिन्छ । कतै छिटो र कतै ढीलो परिवर्तन हुने कारक पनि यिनै हुन् ।
वर्तमान समयमा सांस्कृतिक रूपान्तरणको ज्यादै आवश्यकता किन छ भने यसैबाट राष्ट्रवासीहरूका बिच, राष्ट्र र राष्ट्रका बिच र सम्पूर्ण धरतीवासीका बिच शान्तिमय, समानतामूलक र दिगो सम्बन्ध गाँस्न सम्भव छ ।
२. संस्कृतिको तात्पर्य
संस्कृति स्थिर वा अचल नभई नित्य परिवर्तनशील हुन्छ । जानिंदो वा नजानिंदो किसिमले यो लगातार बदलिरहन्छ । समयक्रममा परिवर्तित भइरहनु यसको स्वभाव हो ।
संस्कृति परिवर्तनशील भएकाले यसको अर्थ एवम् परिभाषा गर्न गारो छ । यसलाई परिभाषित गर्ने प्रयासहरू नभएका होइनन्, तर समयसँगै यसमा आउने परिवर्तनका कारण जुनसुकै परिभाषा पनि अपर्याप्त र निरर्थक बन्न पुग्छ ।
कामचलाउ ढङ्गमा भए पनि संस्कृतिको तात्पर्य बुझ्न सहयोग दिने दुई खालका अर्थहरू चलनचल्तीमा रहेका पाइन्छन् । दुईमध्ये एउटा प्रकारलाई संस्कृतिको भूमण्डलीय वा विस्तृत अर्थ र अर्कालाई विशिष्ट वा संक्षिप्त अर्थ मानिन्छ ।
संस्कृतिको भूमण्डलीय वा विस्तृत अर्थ यसप्रकार छ :
•संस्कृति वा सभ्यता भनेको कुनै समाजमा मानिसको ज्ञान, विश्वास, कला, नैतिकता, नियमकानुन, रीतिथिति, परम्परा र अन्य मानवीय गुण एवम् रुचिको संयुक्त समुच्चय हो ।
यसको विशिष्ट वा संक्षिप्त अर्थ यसप्रकार छ :
•यो कुनै समुदायमा पाइने अभिवृत्ति, विश्वास, मूल्य र शिल्प हो ।
संस्कृति मानिसले हासिल गरेको महत्तम उपलब्धि हो । यसकै आधारमा अन्य प्राणीभन्दा मानिसको तीव्र विकास भएको छ ।
३. सांस्कृतिक रूपान्तरण सिद्धान्त : परिचय
यस सिद्धान्तको प्रतिपादन विदुषी रिएन एस्लरद्वारा ‘द च्यालिस एन्ड ब्लेड’ नामक ग्रन्थमा गरिएको छ । सांस्कृतिक रूपान्तरणसम्बन्धी उनको बहुमान्य र बहुप्रचलित स्थापनाअनुसार उहिले सभ्यताको विकास ‘भागिदारी ढाँचा’बाट भएको थियो । कालान्तरमा यसलाई पन्छाएर ‘हैकमवादी ढाँचा’ आयो । यी दुईमध्ये पहिलो ढाँचा समाजका नारी र पुरुषको समान भागिदारीमा आधारित थियो, तर दोस्रो ढाँचामा पुरुषको एकल प्रधानता र प्रभुत्व बढ्यो । उनका अनुसार हाम्रो संस्कृतिको विकासको मूल धार भागिदारी हो, तर बीचमा देखापरेको अव्यवस्थाको समय र सांस्कृतिक विघटनका कारण पालो फेरिएर हैकमवाद स्थापित भइदियो ।
एस्लरले उपर्युक्त स्थापनालाई अर्का प्रकारले अर्थात् इतिहासका सन्दर्भबाट पनि स्पस्ट्याएकी छन् । उनका मतमा इतिहास भनेको दुईवटा ठूला विकासवादी धारको परिणाम हो । प्रथमतः मानिसको आदिम अवस्थाबाट साङ्गठनिक स्वरूपको समाजमा विकास भयो । द्वितीयतः सांस्कृतिक पालो फेरिएर भागिदारी ढाँचाको ठाउँ हैकमदारी ढाँचाले लियो ।
हैकमवादी र भागिदारी ढाँचाको भिन्नता तिनमा पाइने प्रमुख चारचार वटा तत्त्वहरूका आधारमा यसरी देखाइन्छ :
(क)हैकमवादी ढाँचाका चार तत्त्वहरू :
(अ) सत्तावादी सामाजिक र पारिवारिक संरचना,
(आ) कट्टर रूपमा पुरुषको प्रधानाता,
(इ) अत्यधिक भय, हिंसा र दुराचार,
(ई) यो व्यवस्था नै सामान्य र ठीक हो भन्ने विश्वास ।
(ख)भागिदारी ढाँचाका चार तत्त्वहरू :
(अ) प्रजातान्त्रिक तथा समतामूलक समाजिक र पारिवारिक संरचना,
(आ) लैङ्गिक समानता अर्थात् नारी र पुरुषको बराबर साझेदारी,
(इ) संस्थागत न्यूनतम भय, हिंसा र दुराचार,
(ई) यो व्यवस्था नै सामान्य र ठीक हो भन्ने विश्वास ।
यस सन्दर्भमा एस्लरको निष्कर्ष के छ भने अन्य कुनै समयभन्दा वर्तमानमा उपर्युक्त हैकमवादी सांस्कृतिक ढाँचाको पालो फेर्न र सबै मिलेर त्यस हैकमवादबाट पुनः भागिदारीतर्फ डेग सार्न आवश्यक भएको छ ।
उनका विचारमा विगत एक सय वर्षदेखि हाम्रो संसार तीव्रताका साथ बदलिदो छ । प्राविधिक बानी, सोचाइ र काम गराइमा पनि परिवर्तन आएको छ । फलतः लैङ्गिक भूमिका र सम्बन्धमा समेत परिवर्तन परिलक्षित भएको छ । यसका कारण भूमण्डलीय साझेदारीको आन्दोलन पनि बढी प्रजातान्त्रिक र समतावादी सम्बन्ध गाँस्ने दिशातर्फ उन्मुख भएको छ ।
एस्लरका अनुसार अन्य प्राणीको जैविक विकास सहस्राब्दिमा हुन्छ भने मानवको सांस्कृतिक विकास धेरै नै छिटोछिटो हुन्छ । मानवको जैविक स्थिति अद्वितीय छ । हाम्रो अत्यन्त विकसित मस्तिष्क र बृहत् स्मरणशक्ति छ, जसमा अत्यधिक सूचनाहरू अटाएको हुन्छ । साथै हाम्रो मस्तिष्क लचिलो र बहुमुखी पनि छ । यसको तात्पर्य हामी आफ्नो व्यवहार पुनर्निवेशका आधारमा बदल्न सक्छौं भन्ने हो । आज हामीलाई वातावरणिक, आर्थिक, सामाजिक आदि सबै तिरबाट उच्च प्रविधि र हैकमवादको मिश्रण दीर्घकालीन हुँदैन भन्ने पुनर्निवेश प्राप्त हुँदैछ । तसर्थ अहिले देखिएको उक्त परिवर्तन रूपान्तरणकारी भएकाले भागिदारीका लागि पालो फेर्ने उचित समय आएको छ । भागीदारीतर्फको रूपान्तरणले जीवनलाई बढी समानतामूलक, शान्तिमय, दिगो र परिपूर्ण तुल्याउँछ ।
४. नेपालमा सांस्कृतिक रूपान्तरण
विगतका कतिपय वर्षदेखि नेपालमा पनि सांस्कृतिक परिवर्तन एवम् रूपान्तरण नभएको होइन, तर त्यो हैकमवादी ढाँचाबाट प्रेरित भएकाले त्यति समतामुखी नरहेको देखिन्छ । मुलुकी ऐनका महिलासम्बन्धी प्रावधान, समान शिक्षाको अवसर, महिला सशक्तीकरणको अभियान, नारीहिंसाको कानुनी रोकथाम, घरेलु हिंसा र बलात्कारको छाउपडी प्रथाको विरोध, आमाका नाममा नागरिकता, महिला पाइलट एवम् ट्याक्सी आदि वाहन चालकको अनुमति, निजी वा सरकारी सङ्घ, संस्था, राजनैतिक दल आदिमा र संसदमै पनि महिला सहभागिताको वृद्धि आदिका माध्यमबाट परिवर्तन भइरहेको जानकारी पाइन्छ । यी परिवर्तनहरू सुधारात्मकभन्दा बढी सत्तात्मक दृष्टिबाट गरिएका हुँदा एकाङ्गी र अपर्याप्त छन् । अबका समयमा सांस्कृतिक रूपान्तरणको पालो फेरिएर सत्तात्मकबाट समतावादी हुनु पर्छ र हैकमवादका ठाउँमा भागिदारीले महत्त्व पाउनु पर्छ ।
हाम्रो देशमा अहिलेसम्म नयाँ संविधानको निर्माण हुन सकेको छैन । संविधान अर्थात् देशको ऐनकानुन पनि संस्कृतिको महत्त्वपूर्ण अङ्ग, पक्ष र संवाहक भएकाले यसको निर्माणमा विलम्ब हुँदा वाञ्छित सांस्कृतिक परिवर्तन वाधित हुन्छ । राजनैतिक अस्थिरताका कारण देश पनि अनेक थरी चलखेलको सिकार भई अगति पर्छ । यसका अतिरिक्त हाम्रो देशलाई पनि आतङ्कवादको सन्त्रास, हत्या र हिंसाको भयावहता, बढ्दो जनसङ्ख्याको विकरालता, प्राकृतिक एवम् वातावरणीय प्रकोपको भयङ्करताले बेसरी गाँजेको छ । अनि हाम्रो देशमा पनि नयाँनयाँ प्रविधिको बढ्दो प्रयोग, भूमण्डलीकरणको अत्यधिक चाप र प्रभाव, नौलानौला आर्थिक एवम् सामाजिक चुनौतीहरूका कारणले गर्दा समेत भयावह स्थिति उत्पन्न भएको छ ।
माथि उल्लिखित स्थितिहरूको सामना गर्न र देशलाई दिगो विकासतर्फ डो-याउन सांस्कृतिक रूपानतरणको भूमिका अहं हुन्छ । अहिले हाम्रो देशमा पनि भागिदारी ढाँचामा आधारित सांस्कृतिक रूपान्तरणको एकदमै खाँचो छ, किनभने यसैद्वारा समाजमा समता, शान्ति, परिपूर्णता र दिगो विकासको आवाहन गर्न सकिन्छ ।
वर्तमान समयमा संसारमै र नेपालका समस्त मानिसहरूमा पनि आधा जति पुरुष र आधा जति नारी छन् । विडम्बना के छ भने नारीहरूद्वारा संरचित आधा मानवतामा पनि पुरुषको सत्ता र प्रभुत्व हावी छ । पुरुषप्रधानताको यस अवस्थालाई दुरुत्साहित गरी वर्तमानकालिक सांस्कृतिक रूपान्तरणका लागि नारी एवम् पुरुषको समान सहभागिता हुने भागिदारी ढाँचा अँगाल्नु अनिवार्य छ । यसैबाट लैङ्गिक सन्तुलन कायम हुन्छ र समतामुखी सम्पन्न समाज खडा हुन्छ ।
५.उपसंहार : सांस्कृतिक रूपान्तरणमा साहित्य र साहित्यकारको भूमिका
संस्कृतिका विभिन्न महत्त्वपूर्ण पक्ष छन्, जसमध्ये एउटा महत्त्वपूर्ण पक्ष कला हो । कला भनेको सङ्गीत, चित्र, मूर्ति, नृत्य, नाट्य, साहित्य आदि सबैलाई बुझाउने छाता शब्द हो । कलाअन्तर्गत ललित कलाका छत्रछायाँमा हुर्कने साहित्यलाई शाब्दिक कला, भाषिक कला वा वाक्कला भनिन्छ । यो भाषाका माध्यमबाट अभिव्यक्त हुने व्यापक, लोकप्रिय र गम्भीर कला हो ।
सांस्कृतिक रूपान्तरणमा साहित्यको ठूलै भूमिका हुन्छ । कविता (महाकाव्य, खण्डकाव्य, फुटकर कविता, गीत), नाटक (पूर्णाङ्की, एकाङ्की), आख्यान (उपन्यास, कथा, लघुकथा), निबन्ध (निजात्मक निबन्ध, नियात्रा, आत्मकथा, संस्मरण आदि) का विभिन्न विधामा रचिएका कृतिहरूले रूपान्तरणसँग सम्बद्ध दृष्टान्त, विषयवस्तु, व्याख्या, विश्लेषण, परिचय, विशेषता, आवश्यकता, महत्त्व, उद्देश्य, प्रयोजन, आदिबारे कलात्मक पाराले प्रकाश पारेर त्यसको संवर्द्धन र समर्थन गर्छन् । नारी र पुरुषका बीच लैङ्गिक सन्तुलन र समानता कायम गर्ने खालका भाव वा विचार, विषयवस्तु, कथानक, पात्र, परिवेश, दृष्टिकोण, भाषा, शैली, ध्वनि, प्रस्तुति आदिका माध्यमबाट साहित्यले परिवर्तनबारे पाठकलाई प्रभावकारी ढङ्गमा दीक्षित गर्न सक्छ ।
सांस्कृतिक रूपान्तरणको अबको पालो भागिदारीद्वारा परिवर्तन ल्याउने हो । भागिदारी भनेको हरेक क्षेत्रमा नारी र पुरुषको समान साझेदारी हो । यस परिप्रेक्ष्यबाट हेर्दा नारी र पुरुष लेखकको भिन्नाभिन्नै दायित्व नभई दुवै नै रूपान्तरणका समान भागिदार भएकाले तिनको दायित्व पनि समान छ । नारी वा पुरुष सबै खाले लेखकहरू आफ्ना कृतिमा प्रयुक्त विषय, भाव, विचार, घटना, चरित्र, दृष्टिकोण, भाषा, शिल्प, सन्देश आदिद्वारा रूपान्तरणमा नारी र पुरुष दुवैको समान र सार्थक साझेदारीलाई साकार पार्ने दायित्व र दिशातर्फ लाग्नु पर्छ । नारी र पुरुष दुवै साहित्यकारले संयुक्त रूपमा क्रियाशील भई मानिसको नारीमाथि प्रभुत्व, मानिसको मानिसमाथि प्रभुत्व, मानिसको समूहमाथि प्रभुत्व र मानिसको प्रकृतिमाथि प्रभुत्व गरी प्रमुख चार प्रकारका हैकमको अन्त्य गर्नु पर्छ ।
अन्त्यमा, सांस्कृतिक रूपान्तरणका कुरा लेख वा कार्यपत्रमा अथवा सैद्धान्तिक रूपमा आकर्षक सङ्कल्पनाका रूपमा देखिन्छ, तर यसलाई व्यवहार वा साहित्यिक रचनामा उतार्न गारो हुन्छ । यस कुरालाई हृदयङ्गम गरी साहित्यकारहरू यस कार्यमा लाग्नु उपयुक्त हुने देखिन्छ ।
000
(स्रोत : फेसबुकको ‘कलमको आँखा : सिर्जना परामर्श’ समूहबाट )