~प्रकाश सुनुवार ‘निराकार’~
काठमाण्डौं र मोफसलहरु आपसमा
टेलफोनले जोडिए
हवाइमार्गले जोडिए
इन्टरनेटले र इमेलले जोडिए
नजिक अनि झनझन नजिक भए ।
लाग्छ सवै एकै ठाउँमा गुजुल्टो परेको छ
लामो भन्दा लामो दुरीहरु
एउटा सानो मुठीमा अटाउने वनाएको छ ।
शिघ्र सम्पर्क स्थापित गराएको छ ।
टेबलमा सजाउने सानो ग्लोब जत्रो आकारमा
भएभरकाहरु सवै जोडिएको यो बेला
इच्छा लाग्नु मात्र पर्छ
टुप्लुक्क पुग्छन् ।
एउटा क्लीकको भरमा दुखपिडाहरु
काठमाण्डौं जाक्किन पुग्छन्
सम्पुर्ण समस्याहरु सुनाउंछन्
काठमाण्डौमा दुखहरु हरेक पल पोखिरहेका हुन्छन्
छछल्कीरहेका पुग्छन् ।
काठमाण्डौ आजभोली
सारै नजिक भएको छ
हावाले पत्कर उडाए जसरी
सवै ठाउँका मान्छेहरुलाई भेला पार्छ
छलफल गराउंछ
ठुलोठुलो गोष्ठीहरु गराउंछ
आन्दोलनमा उतार्छ
भाषण सुनाउँछ
नारावाजी गराउंछ ।
अन्त्यमा समाधानहरु कुरिरहेका मोफसलहरु
भिरपाखा अनि खोलानालाहरु
खोक्रो आश्वसनका भागिदार हुन्छन्
भाग्य निर्माता भनेर कहलिएको काठमाण्डौं
यतिखेर जोडिएर पनि सम्पर्क विहिन छ
सानो ग्लोबमा चर्चेको भुभागहरु
एक झोला आकारहरु
औचित्यहिन अनि प्रयोजनहिन भएर
काठमाण्डौ कुरिरहेका छन् ।
काठमाण्डौं समाधान होइन
मोफसल आफै समाधान हुन्
समस्याहरुभित्र नै समाधान खोतलेर निकाल्न सकिन्छ
उत्खनन त्यहिं गर्न सकिन्छ ।
मोफसल र काठमाण्डौ आपसमा
तालमेलहरु निष्कृय छन्
पहाड खोतल्ने क्षमता काठमाण्डौंमा छैन
हिमाल चड्ने पाइला काठमाण्डौंमा छैन
तराई जोत्ने योजना काठमाण्डौैंमा छैन
काठमाण्डौ र मोफसल
जोडिनु र नजोडिनु अर्थहिन छ
संसारका नक्सा वोकेर वसेको काठमाण्डौं
मोफसललाई उडाएर सम्पर्क विहिन बनाउंछ
कुनै विदेशमा खसाल्नु वाहेक अरु केहि सक्तैन ।
(३ जुलाई २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)