~लेखनाथ छेत्री~
बितेको बर्ष
स्नातक-पत्र थापेर
आफुलाई अब्बल बेकारी प्रमाण गरेको
त्यो एतिहासिक दिन
छोडिराखेको हुनुपर्छ हामीले
बर्चहिलको बाटो ।
बर्चहिलको खस्रो माटोमा खिइएर गएको
दर्जन जोडी फ्यान्सी जुत्ता टेकेर हिँडथ्यो
हाम्रो पृथ्वी जस्तो टाउको,
जहाँ हुन्थ्यो-
बाउको चाउरी परेको अनुहार
आमाको फाटेको सपना
एउटा सुदुर गाउँ
आजको ताजा खबर
मायालुको लिप्सटिक मुस्कान
आइतबारको क्रिकेट खेल
सिनेमाघरको चल्ती मुभी
अनि दार्विन बाजेका गह्रौं बस्ता ।
बर्चहिलको बाटो
कहिले हामी
एक रोमान्टिक कविको कविता हिँड्यौं
कहिले
जन लेनोन, कर्ट कोबेनका गीतहरु हिँड्यौं
कसम केटाहो!
बर्चहिलको बाटो तर
हामीले एउटा जिन्दगानी हिँड्यौं ।
बर्चहिलको बाटो हामीसँगै हिँड्यो खैनीको पुरानो पाकेट
अनि चुरोटको एक-दुइ टुक्रा
हिँड्यो हामीसँगै धुँवाको प्रत्येक सर्कोसँग बरालिरहेको
एउटा लावारीश जीवन ।
बर्चहिलको बाटो
धेरैजसो हाम्रो भोकलाई
रित्तो पाकेटभित्र हालेर
कसैलाई नदेखाई थुम्थुम्याएर घरसम्म ल्यायौं ।
बर्चहिलको घुम्ती-घुम्तीले देख्यो
साँझपख आफ्नै लाश घिसार्दै फर्किरहेको हामी ।
बर्चहिलको सुनसान डाँडामा बसेर गरेको
जीवनबारे गम्भीर बहसहरुबीच
माथि आकाशबाट धेरैपल्ट हामीले
दिँउसै ताराहरु खसिरहेको देख्यौं
अनि हतार हतार योजनाहरु तयार पार्यौं
जो केहीछिनपछि मुर्दा भाईसकेका हुन्थे ।
बर्चहिलको बाटोले हामीलाई
बेलाबेला सराबी बनायो
अलिकती दार्शनिक बनायो
सबैभन्दा धेर केटाहो हज्जार मान्छे जस्तो मान्छे बनायो ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)