~उज्ज्वल जी.सी.~
औँसी पोतिएको
छातीका कुना कन्दराहरूमा
स्निग्ध मित्रता खोज्न
मैले हार्दिकताको
अनमोल समय
खर्चिएँ
तर देखिन
विश्वासका पीपलहरू
आत्मीयताका दुबोहरू
ऊ भित्र
मेरो यात्रा
ठोकियो अनायास
कपटको चट्टानहरूमा
ईष्र्याका थुम्काहरूमा
कस्तो दृष्टिभ्रम
देखेँ एकदिन
विश्वास÷आत्मीयता÷नैतिकता फक्रेको
अर्कोदिन देखेँ
विश्वाससँगै अविश्वास
आत्मीयतास‘ंगै वैमनष्यता
नैतिकतासँगै अनैतिकता
फेरि अर्कोदिन देखेँ
विश्वासभन्दा अविश्वास अग्लिएको
आत्मीयताभन्दा वैमनष्य सग्लिएको
नैतिकताभन्दा अनैतिकता फैलिएको
००
हो महाशय,
एउटा कालरात्रीभित्र
पलपल दिग्भ्रम ओढेर
बेसाइतको यात्रामा
मैले भोगेँ
अनगिन्ती यथार्थहरू
अर्थात्
बहुसत्य– असत्यहरू ।
