~सुरेन्द्र महर्जन ‘अमर’~
मुटुभित्र पनि देश भेट्छु परेलीमा झन सँधैभरी
नेपाली हुँ त्यसैले होला देश दुख्दा पीडा वरिपरि ।
मान्छेसँग देशको माया होस यस्तै चाहन्छु
मुटु आफ्नो धड्कन देशको बन्न चाहन्छु,
हिमाल झैं अटल माटोको शान बनु सँधैभरी
नेपाली हुँ त्यसैले होला देश दुख्दा पीडा वरिपरि ।
हृदयमा राष्ट्र यही भूमिको माटोमा आमा देख्छु
माटोमा फूल फुल्छ स्वर्ग यही ईश्वर यहीँ भेट्छु,
जन्मभूमि मेरो प्राण मान सम्मान गर्छु सँधैभरी
नेपाली हुँ त्यसैले होला देश दुख्दा पीडा वरिपरि ।
(स्रोत : अन्तरमन को साहित्य)