~डा. कपिलदेव लामिछाने~
केही युवा–युवतीहरू बडो उमङ्गका साथ नयाँ वर्ष मनाउँदै थिए । पुरानो साल बाई–बाई !! नयाँ साल हाई–हाई !! भन्दै थिए । हरेकका मुखमा झुन्डिएको थियो – नयाँ साल ! नयाँ वर्ष ! तिनको बोलीवचन, हाउभाउ, लबाइ–खवाइमा उत्साह थियो । जोस थियो । उमङ्ग थियो । सडकमा हिँड्दै थिए ।
फुटपाथमा सानातिना बेपारी थिए । घर महल नहुनेहरू थिए । घर भए पनि आँगन नभएकाहरू थिए । साँगुरो डेरा लिएर बसेका विद्यार्थी र जागिरेहरू थिए । आफ्नो खेतबारीमा दुखले उब्जाएको तरकारी बेच्न आएका बेपारी थिए । पत्रिका बेच्ने कराउँदा हकर थिए । नयाँ सालको उमङ्ग बोकेको एक हुल ठेलमठेल गर्दै फुटपाथमा आइपुग्यो ।
एउटाले भन्यो – ए बाटो छाडो ! कस्ता नन्सेन्स ! बाटै छेकेर बस्ने !
फुटपाथेले भन्यो – किन छाड्ने बाटो ?
अर्काले भन्यो – आज नयाँ वर्ष ! त्यत्ति पनि था’छैन ? पाखे !
एक अर्को फुटपाथेले भन्यो – नयाँ वर्ष ! नयाँ वर्ष लागेर केको खुसी ? यसले खान दियो ? लाउन दियो ? घर दियो ? हामीलाई त हिजो जस्तो थियो आज पनि त्यस्तै छ । यसमा खुसी कस्तो ! मामाकी घोडी मेरी हीँ हीँ ! …
लेखकको ‘बोन्साइ’ लघुकथा सङ्ग्रह (२०६८) बाट
डा. कपिल लामिछाने,
भैरहवा ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )