~श्वेता मैनाली~
सृष्टि सोच्थी, एक दिन यो सपना बिपनामा बदलिनेछ । हरेक रात सपनीमा एउटा संगीत साधक आउने गथ्र्यो । मायाका मीठामीठा कुरा गथ्र्यो । अनि मीठो गीत गाउने गथ्र्यो । सृष्टि मन्त्रमुघ्ध हुन्थी । संगीत साधकको नजिकै छातीमा अडेस लाउँथी, साधक आफ्नो हात सलबलाउँथ्यो । अनि भन्थ्यो, ‘सृष्टि मलाई सधैँ यसरी नै माया गर है ।’ सृष्टिले हुन्छ भन्न नभ्याउँदै बेजोडको तुफान आउँथ्यो, आफैँ सम्हालिन नसकिने खालको ।
‘सृष्टि अब त उठ ८ बजिसक्यो ।’
सपनामै झस्किएर उठी सृष्टि ।
‘ह्या, आमालाई पनि यही बेला उठाउनुपर्ने ।’ त्यो तुफानमा मलाई मेरो साधकले बेस्सरी अँगालेर पर सुरक्षित ठाउँमा लैजान्थ्यो होला । जहिले उठाउनुपर्ने । म आफैँ उठ्थेँ नि ।’ सृष्टि बर्बराउँदै उठ्छे ।
त्यसपछिको उसको दिनचर्या भनेको फेसबुक खोल्ने हुन्थ्यो । अनि सर्च बक्समा गएर उही साधक (जो एउटा टप सेलेब्रिटी थियो) को नाम हालेर उसको फेसबुक वालमा जान्थी । अनि, एकएक गर्दै फोटो हेर्थी । एउटै फोटो ऊ घन्टौँसम्म हेर्न सक्थी ।
त्यतिबेलासम्म सृष्टिलाई आमाले बोलाउँथिन् । ‘चिया खान आऊ, अझै सुतेको ?’
‘छैन, अब एउटा गीत हेरेर आउँछु ।’
त्यसपछि युट्युब खोल्थी उसको गीत हेर्न । सोच्थी, साधक सबै गीतहरू उसैका लागि गाउँछ, माया र भावसँगै । एक किसिमको सपनाको संसारमा निकै नै खुसी छे सृष्टि ।
‘अब त कलेज जान हतार भयो है,’ आमा फेरि चिच्याउँथिन् ।
‘आएँ आएँ ।’
००
कलेजमा पनि उस्तै । साथीभाइ हैरान थिए, सृष्टिको उही संगीत साधकको बयान सुन्दासुन्दा ।
एउटी असाध्यै मन मिल्ने साथी थिई, सारिका । सृष्टिलाई बडो माया गर्थी । सृष्टिको पागलपन देखेर कतिपटक भन्थी, ‘सृष्टि तँ यति धेरै उसलाई चाहन्छेस् भने, आई विल हेल्प यु टु, रिच हिम ।’
‘ह्या भयो छोड । मेरो सपनाकै संसार ठीक छ, जहाँ म हरेक रात उसलाई पाउँछु, माया गर्छु, नजिक हुन्छु । मलाई बिपनासँग डर लाग्छ । यथार्थमा बाँच्न गाह्रो हुन्छ, हाँस्न झन् मुस्किल । फेरि ऊ आममान्छे पनि होइन, सेलेब्रिटी हो सेलेब्रिटी । मैले चाहेर मसँग नजिक हुन्छ भन्ने सोचेकी छस् कि क्या हो ? उसका मजस्ता फ्यान लाखौँ छन् । मैले आकासको जुन मन पराएकी छु, जो मेरो रातमा मात्र आउँछ अनि उज्यालो हुन नपाउँदै हराउँछ । हरेक रात म यसरी नै खुसी हुन चाहन्छु । त्यसैले सारिका मलाई यो सब गफ नदे, प्लिज । नजाने गाउँको बाटो नसोध्नु रे । असम्भव कुरामा किन टाउको दुखाउनु !’
‘असम्भव भन्ने केही हुँदैन सृष्टि । तेरो साधक ( सृष्टि सबैसँग आफ्नो सपनाको राजकुमारलाई साधक भन्ने गर्थी) सँग कुनै दिन उज्यालोमै भेटिस् भने के गर्छेस् ?’
‘अँध्यारोमा सधैँ नजिक छु । उज्यालोमा भेटेँ भने टाढैबाट नअघाउन्जेल हेर्छु । आँखाले माया गर्छु । एउटा कुरा थाहा छ सारिका ? माया गर्न नजिक हुनुपर्दैन नि । मन भए पुग्छ । अपार माया गर्न सकिन्छ मनमनबाटै, यदि माया निस्वार्थ हो भने । आँखैले माया गर्न सकिन्छ, मनको भाकामा त्यत्तिकै ताकत हुन्छ । माया गर्न मुटु भए पुग्छ । सामिप्यता त मायाका ढोँगीहरूका लागि मात्र हो । म टाढैबाट माया लाउँछु । सपनाकै संसार सही, मीठो माया लाउँछु ।’
‘अरे बा, तेरो यो माया हो कि आकर्षण ?’
‘त्यो त समयले बताउला सारिका ।’
कलेजमा सृष्टिको खालि समय यसरी नै बित्थ्यो । एउटा अचम्मको प्रेम कथासँगै ।
सारिकाले भने जस्तै अब उसलाई त्यो साधक नजिकबाट नियाल्न मन थियो । धेरैबेर हेर्न मन थियो ।
आँखाले नै भए पनि माया गर्न मन थियो ।
सोचेजस्तै एक दिन कलेजमा उही साधकको कन्सर्ट भयो ।
टोल थर्किने गरी गीत बज्यो । संगीतको रमाइलो माहोल । बडो झमझम थियो । संगीतको तालमा झुम्दै थिए सबै ।
सृष्टि भने परबाट साधकलाई नियाल्दै मात्रै थिई । मन भर्ने गरी हेर्दै थिई, आफ्नो सपनाको राजकुमारलाई । साथीहरू नाच्नका लागी उसलाई तान्दै थिए । ऊ एकनासले टोलाएर साधकको हरेक गीतको भिडियो खिच्दै थिई, आफ्नो मोबाइलबाट । कन्सर्ट सकियो । सबै घर गए । ऊ जहाँको त्यहीँ उभिराखेकी थिई, साधक गएको परसम्म नियाल्दै ।
‘ओई सृष्टि, कुरा गर्छेस् म मिलाइदिन्छु ।’
‘भयो सारिका पर्दैन ।’
‘आज म तृप्त छु । केही हतार छैन । ऊ भरे राति फेरि आउँछ, अनि म फेरि मीठो माया लगाउँछु ।’
‘तँलाई त खै के भाको । चेकअप गर्न लानुपर्ने हो कि जस्तो लाग्छ ।’
‘हाहा, कहिल्यै कसैलाई यति धेरै मन पराएको भए थाहा हुन्थ्यो ।’
दुवै घरतिर लागे ।
००
‘सृष्टि खाना खान आउ,’ घरमा आमा बोलाउँछिन् ।
‘आज मैले कलेजमै खाएँ आमा । मलाई भोक छैन ।’
आज सृष्टि भरिएकी छे पूर्णतः ।
सीधै कोठामा जान्छे । ल्यापटप खोल्छे । अनि फेसबुक ।
आज साधकलाई फ्रेन्ड रिक्वेसट पठाउँछे । अहिलेसम्म उसले रिक्वेस्ट गरेकी थिइन् । हेर्न मन लाग्यो भने सर्च गरेर हेर्थी ।
तर धेरै दिनसम्म रिक्वेस्ट एसेप्ट भएन ।
सोच्छे, मजस्ता रिक्वेस्ट पठाउने कैयौँ होलान् । ठीकै छ । उसको खिचेको भिडियोहरू चाहिँ पठाइदिनुर्पयो । आफ्नो भिडियो हेर्दा रमाइलो लागोस् उसलाई ।
फेरि सर्च बक्समा गएर सर्च गर्छे । म्यासेज बक्समा जान्छे र कन्सर्टको उसको राम्रो भिडियो सेन्ड गरेर, छोटो म्यासेज लेख्छे ।
‘योर भिडियो फ्रम पिन्याकल कन्सर्ट ।’
म्यासेज डेलिभर्ड ।
अनि एकछिनमा सिन स्ट्याटस ।
सृष्टि एक किसिमको छट्पटाउँछे, कहीँ मैले गल्ती त गरिन ।
विपनाको मोहले सपनामा गुमाउनु नपरोस् ।
एकछिनमा त रिप्लाई पनि आउँछ ।
‘थ्यान्क्यु, कहाँबाट पाउनुभो ?’
‘मैले खिचेको नि । अनि रिक्वेस्ट एसेप्ट गर्नुभएन नि !’
‘मैले भर्खर गरेँ ।’
‘साथी बन्न भिडियो पठाउनु पर्ने ?’
‘त्यस्तो होइन ।’
गफ यसरी नै सुरु हुन्छ ।
सृष्टि आफूले खिचेको सबै भिडियो पठाइदिन्छे ।
‘यति धेरै खिचेको ?’
‘आफूलाई मन पर्ने सेलेब्रिटी अगाडि पाउँदा नखिची बस्न सकिनँ ।’
‘थ्यांक्यु सो मच ।’
अनि तपाईं के गर्नुहुन्छ ? मेरो गीत कत्तिको सुन्नु हुन्छ ? तपाईंलाई कन्सर्ट कस्तो लाग्यो । उसले यस्तै–यस्तै धेरै जिज्ञासा राख्यो ।
सुरुवाती गफ सतही नै थिए । तर, बिस्तारै सामिप्यता बढ्दै गयो ।
‘तपाईंलाई मेरो नयाँ गीत पठाउँछु है ।’
‘सुन्नुस् न तपाईं मलाई तपाईं नभन्नुस्े न । तिमीभन्दा अझ मिठो सुनिएला ।’
तपाईंको स्वरको त म कसरी बयान गरुँ । मेरो जिउने आधार भाको छ । तपाईंबिनाको संगीतको संसार कति अपुरो हुन्थ्यो होला ।’
‘तिमीलाई त्यस्तो लागेको हो सृष्टि । मन परेर मेरो स्वरको यति धेरै बखान गर्दैछ्यौ । भन त तिमी मेरो संगीत मात्र मन पराउँछ्यौ कि मलाई पनि ?’
अब भने सृष्टि अवाक् भई ।
‘बोल न, किन केही लेख्दिनौ ?’
सृष्टि हात काँप्दै लेख्छे–
‘तपाईंको स्वरको त म यसै पनि फ्यान छु । तपाईं झन् मेरो सपनाको राजकुमार हुनुहुन्छ । तपाईं मलाई यति मन पर्छ कि म शब्दमा व्यक्त गर्नै सक्दिनँ । खै यो माया हो कि आकर्षण मैले छुट्याउन सकेको छैन । त्यो समयले बताउला ।’
‘एउटा कुरा भनौँ सृष्टि ?’
‘अँ भन्नु न ।’
‘आजकाल त तिमीले भन्दा मैले तिमीलाई धेरै मन पराउन थालेको छु ।’
‘म कसरी विश्वास गरुँ । तपाईंका कैयौँ फ्यानहरू छन् । मजस्तै भुतुक्कै हुनेहरू सयौं छन् होला । कोही न कोहीसँग त मभन्दा पहिले माया बसिसकेको होला । म कसरी पत्याउँ तपाईं पनि मलाई माया गर्नु हुन्छ भनेर !’
‘तिमीले भनेजस्तै त्यो पनि समयले बताउनेछ सृष्टि, म तिमीलाई कति मन पराउन थालेको छु भनेर । अहिले तिमीलाई पत्याउन गाह्रो पर्ला । मलाई विश्वास छ, मेरो माया यसै खेर जाँदैन ।’
सृष्टि खुसीको साइन सेन्ड गर्छे ।
साधक आफ्नो माया जताउँछ, लभ साइन सेन्ड गरेर ।
सृष्टि पनि लभ साइन पठाउँछे ।
००
सृष्टिका पछिल्ला साँझ यसरी बित्न थाले । ऊ साधकसँग भिडियो कलमा घन्टौँसम्म कुरा गर्न थाल्छे । सपना पनि पहिलेकै देख्थी कि हररात साधक आउँथ्यो र कतै घुमाउन लैजान्थ्यो ।
अब सृष्टिलाई संसार झन् फराकिलो र रंगीन लाग्न थालेको थियो । सपनी र विपनी दुवैमा उसकै प्रेमी ।
यसरी नै दिन बित्यो, महिना बित्यो, वर्ष बित्न थाल्यो, तर मायामा कमी आएन । उही आत्मीयता, मीठो माया, उही सद्भाव ।
वर्षौंपछि फेसबुकबाट माथि उठेर भेट्ने साहस गरे दुवैले । भ्यालेन्टाइन्स डेको दिन थियो । माया गर्नेहरूका लागि महत्त्वपूर्ण दिन ।
सृष्टि रातो टाइट गाउनमा, समग्रमा रातै शृंगारमा सजिई । नजिकैको पसलमा एउटा गुलाफको फूल किनी र, भेट्न भनेको स्थल बानेस्वरको एलिनाज बेकरी क्याफेतिर लागी ।
साधक पनि नीलो जिन्स र रातो टिसर्ट लगाएर गुनगुनाउँदै हातमा गुलाफ बोकेर एलिनाज आउँदै थियो ।
एलिनाजदेखि सय मिटर टाढाबाट उनीहरू देखिन थाले, रातो पहिरन, गुलाफको फूल र मृदु म मुस्कानमा । प्रेमले भरिएर सय मिटर पनि सयौं कोस लाग्दै थियो, पाइलाहरू ढिलो भएजस्तो । माया साट्न हतार यो
जोडी परैबाट आँखा आँखैले बेजोड माया गर्दै थिए । कदम नजिक पुग्नै आँट्यो ।
बेस्सरी चिच्याएको आवाज आयो– डरलाग्दो र भयभीत आवाज, कुनै दुर्घटना झेल्दै गरेको आवाज ।
उताबाट आएको ट्याक्सीले अगाडिको बच्चा जोगाउन छल्ने हुँदा सृष्टिलाई हान्न पुग्यो ।
एक निमेषमा सृष्टिले देह त्याग गरी । तर, उसको हातको गुलाफ जस्ताको तस्तै थियो ।
(स्रोत : Ratopati)