~दामोदर नेपाल~
एक टुक्रा जुनले
निशा चिर्ने प्रयास गरिरहेको बेला
सहयोगी हातहरु फैलाउँदै
प्रकाशलाई परावर्तन गर्दै
बस्तीमा उज्यालो छर्न उद्यत
कर्णाली दख्खिन बग्दो छ ।
घरको गर्जो टार्न
अनि
गाउँलाई झलिमिलि पार्न
दख्खिन झरेका र झारिएका
दाजुभाईसँग भलाकुसारी गर्न
उत्कट अभिलाषा मनमा सजाउँदै
कर्णाली दख्खिन बग्दो छ।
आफ्नो जल्दो आत्माको पिडा
काठमाडौँलाई सुनाउँदा सुनाउँदै
सुकेको आँतले
सकि नसकी सुसाउँदै
परिवर्तनको स्वागत गर्न
कर्णाली दख्खिन बग्दो छ।
सुनको भाउमा नुन खाएर पनि
झुत्रो आवरणले बेरिएरै पनि
शासकको मागीखाने भाँडो बन्नुपरेको
अव्यक्त पिडा निर्जिव ढुङ्गाहरुसँग पोख्दै
कर्णाली दख्खिन बग्दो छ।
फगत गफका क्रान्तिकारिताको
खुलेर खिल्लि उडाउँदै
दिदीबहिनीका काँधले
घाटमा झारिएको
राज्य व्यवस्थाको लाश
हुत्याउँदै दख्खिन झार्न
खरानी बन्ने प्रतिक्षामा
अझैपनि अविरल बग्दैछ
साँच्चै कर्णाली दख्खिन बग्दो छ।
November 11, 2008
(स्रोत : माइ संसार डट कम)