~बिकल आचार्य~
संसारमा कोही खान पाएर विरामी भएका छन् त कोही खान नपाएर । कोही खाना कसरी खान छोडौँ भनी रातदिन प्रयत्न गरिरहेका छन् त कोही खानाको सपना देखिरहेछन् । कोही खाना नखाएर वजन घटाउनलाई पुरुषार्थ सम्झन्छन् भने कोही सम्भव भएसम्म मिठोमिठो खानलाई हरदम कोसिस गरिराखेका छन् । कोही चाडपर्वलाई धेरै खानुपर्दछ भनेर सराप्छन् भने कोही सारा वर्षदिन भरिको तमन्नालाई एकदिन भने पनि पूरा गर्नलाई रात–दिन गनेर बसेका छन् । त्यसैले मलाई खाना खान पाएर विरामी हुनु राम्रो कि खाना खान नपाएर विरामी नहुनु राम्रो भन्ने विषयमा वहस गर्न मन लाग्यो ।
मान्छेलाई जे चिज पाइँदैन त्यसैको बढी चाह हुन्छ । यो कुरा यहाँ पनि लागू हुन्छ । खान नपाउने मान्छेलाई गएर डाइटिङको कुरा र खान पाउने मान्छेलाई धेरै क्यालोरीको परिकार बारे कुरा गर्नु विसंगतिपूर्ण कुरा हो र नपाएको विपरित कुरा गरे बल्ल मिल्छ । संसारमा धनी देशको समस्या नै यसका जनताहरु मोटा भए भन्नेछ । सवैभन्दा बढी मोटा मान्छेहरु भएको देश अमेरिका हो । यहाँका मान्छेका वजन सवैभन्दा बढी छ । यसको कारण धेरै भन्दा धेरै खाना खानु हो । त्यस्तै बेलायतमा पनि मोटा मान्छेहरुको संख्या प्रशस्त छ र यो क्रम बढ्दो छ । यसले मेडिकल क्षेत्रमा चिन्ताको विषय बनाएको छ । हर प्राणीले खानुपर्दछ । संसारमा रहेका प्रायः सबै प्राणीहरुको धेरै समय खानाको खोजीमा या खानामा नै बितेको छ । यथोचित रुपमा खानाको दुरुपयोग गरी ज्यानलाई अत्याचार गरेपछि खाना पाएर भाग्यवान् हुने होइन बरु खाना नै विष वन्दछ । सारा जीवनभर औषधी र डाक्टरको चक्करमा बित्दछ ।
खाना बढी खाई शरीर मोटो भएर नै मुटुको रोग, क्यान्सर, मधुमेय, बाथ जस्ता अनेकौँ आत्मघाती रोग लाग्ने सम्भावना बढ्छ । अत्यधिक रुपमा चिल्लो र धूमपानको सेवनले अनि व्यायामको कमीले नै रोगलाई निम्त्याउँछ । खान पाइयो भन्दै जथाभावी पशु भई खाएमा त्यसको परिणाम आफैले एकदिन भोग्नु पर्दछ । खाना प्राण हो र यसको यथोचित सम्मान गर्न जान्नुपर्दछ । एक दाना अन्नमा किसानको कति पसिना बगेको छ र थालमा आइपुग्दासम्म कतिको श्रम भिजेको छ तथा यो उब्जाउन कति चमत्कार गर्नुपर्दछ भन्ने कुराहरु जब दिमागमा घुस्दैन तबसम्म अज्ञानताले आँखा छोप्दछ र मानिस राक्षस बन्दछ । पाउन्जेल जे पनि जहिले पनि खाइरहन्छ । खानुलाई नै पराक्रम सम्झन्छ । ठूलो ज्यानले नै खान पाएकोमा गर्व गर्दछ । ठूलो ज्यानको भरमा नै ठूलो हुन खोज्दछ तर जब अस्पतालको खाटमा जीवन र मरणको दोधारमा संघर्ष गरिरहन्छ तव अज्ञानताको पट्टी खुल्दछ अनि एकदम ढिलो भइसकेको हुन्छ । खालि पछुतो मात्र गरेर बगेको समय फर्किदैन, सारा जीवन यस्तै गरेर अरुले खाएको हेरेर, डाक्टर औषधीको बशमा रहेर, आफ्नो स्वतन्त्रता खोजेर वा सीमाभित्र बसेर मात्र चित्त बुझाउनु बाहेक अरु थोक केही रहँदैन । रोग नलागुन्जेल धेरै नखाऊ भनी अर्ती दिने मानिस वैरी बन्दछ – डाइटिसियन गाइजात्राको जोगी जस्तो र पोषणका कुराहरु हाँसो लाग्दो ।
खाना सम्बन्धी कति किताब र विज्ञापन सब टोकरीका फोहर बन्दछन् । कति पल्ट घरमा झगडा यसैको विषयलाई लिएर भएको होला । धेरै पल्ट टेलिभिजनका च्यानल र पत्रिकाका पाना खाना सम्बन्धीका हेर्दै नहेरी फ्याट फ्याट पल्टाइएका होलान् । खान पाएर यस्ता डरलाग्दा रोगहरु बोक्नु भन्दा खानाको लागि तड्पिनु राम्रो हो कि होइन ? यो त खान पाउने मान्छेले नै विचार गर्नु पर्दछ । खान पाएर बिरामी हुने मानिस मानिस होइन जसमा विवेकहीनता र चेतनाको अभाव मात्र देखिन्छ । यसले अरुको चीत्कार, पेटको ज्वाला, जीवनको मर्मलाई सुन्दैन । खालि व्यक्तिगत स्वार्थ, कलंक र वैमनस्यबाहेक अरु पाउन सक्दैन । हामी केको लागि जन्मिएका र के गर्नु छ जीवनमा भन्ने सवै प्रश्नहरु निरर्थक बन्दछन् । औषधिका प्रत्येक चक्कीले धिक्कारी रहेका हुन्छन् । नाप जाँच गर्ने मेसिनले सदैव खिल्ली उडाउँदछन । अस्पतालको ढोकाले स्वागत गर्न हिचकिचाउँदछ ।
अति मेहनतकासाथ समय खर्च गरी पढेका डाक्टरहरुले खान पाई भएका विरामीलाई अफशोच ठान्छन् होला । कति नर्सहरुले प्राकृतिक रुपबाट नै विरामी भएकालाई स्याहार गर्न रुचाउँछन् होला । मोटो अनि भद्दा शरीर कुनै काम लाग्ने प्रमाणपत्र नभएर समयको ठूलो बम हो, जुन जहिले पनि पड्किन सक्दछ । यसले विकराल रुप लिइ वंश नाश नै गर्न सक्छ । यो बम एटोमिक भन्दा पनि बढी खतरनाक हुन्छ । खुसी भन्ने शब्द केही पनि हुँदैन । सुख त झन कल्पना भन्दा धेरै बाहिरको कुरा हुन आउँछ । आफ्नो सारा जीवन (सायद सव परिवारको पनि) शोकको सम्झनामा डुबिरहँदा खान पाउने आत्माले के भन्छ होला ? खान पाउनेले कहिल्यै पनि खान नपाई जीवन अर्पेका मानिसहरुको चिन्तन गर्दैन । उनीहरुको व्यथाको बारेमा पुरै अनभिज्ञ हुन्छ, खानको लागि तड्पेका कलिला, बाल, बृद्ध कसैको कहिल्यै विचार गर्न सक्दैन । उसले संसारमा ७० प्रतिशत भन्दा बढी मानिसहरु एक पेट खानको लागि हरदम मुस्किलमा छन् भन्ने तथ्यांक सुन्न चाहँदैन । आफ्नो एक जना बराबरको खानाले अरु तीन आत्मा बच्न सक्छ भनेर चिन्तन आउने त झन कुरा नै भएन । धेरै खाना खाएर उपचार गर्ने स्रोत सदुपयोगले कति भोको पेटले आशीर्वाद दिन्छन् भन्ने कुरा दिमागमा घुस्दैन । यहाँ त यस्तो दिमागमा आयो आयो, यमराजसँग कसरी सामना गर्ने भनेर डर पनि उसलाई लाग्दैन । स्वर्गको त कुरै भएन नर्कमा खान पाएको मानिस भनेर सम्मान पाइएला र भन्ने पनि उसले ख्याल गर्दैन । पूरा जीवन बिताउन पठाएको मान्छे बीच बाटोबाटै फर्केर आउँदा त्यहाँका भारदारहरुले स्यावास भन्लान् र भन्ने पनि उसले मतलव राख्दैन । उसलाई माथिबाट हेर्नेले पनि हाँसेका छन्, खिस्याएका छन् र गाली गरेका छन् तर यी कुरा खान पाउनेको दिमागमा घुसेको भए यतिसम्मका कुरै आउने थिएन । ढिलै भएपनि गिदीमा चस्मा लगाइदिने मानिस कहाँ होला ? कसरी खोज्नेहोला ? आफ्नै छाया देखेर अर्को भनी ठूलो इनारमा हाम फाल्ने मूर्ख सिंह जस्तो लागिरहेछ – खान पाउने मानिस । यसलाई बचाउन उपयुक्त के होला सवैले सोचौँ न ! खान नपाउने मान्छेले हरसमय खानालाई सञ्जीवनीको रुपमा हेरेको हुन्छ । ऊ घर परिवार छोराछोरी सवैलाई हरदम पेट भर्नमा नै रातोदिन लागिरहेको हुन्छ । उसले अन्नको दानालाई अमृत ठानेको हुन्छ । सदैव यसको सम्मान गर्दछ । कहिल्यै वाहियात रुपमा खेर फाल्दैन । हरएक दानाको निमित्त कति पसिना र श्रम भिजाउँदछ । कति लम्वे दुरी यात्रा गर्दछ । कति गाली गलौज सुन्नु पर्दछ तैपनि आत्मालाई जीवन्त राख्न आफ्नो कर्म गर्नमा कहिल्यै पछि पर्दैन । रोगले ऊबाट ठाडो पुच्छर लाउँछ । अस्पताल जिन्दगीमा देख्नै पर्दैन । औषधिको त कुरै भएन । बिहान खाए बेलुकाको चिन्तन, बेलुका भए बिहानको । संभव भए हजार वर्ष तपस्या गरेर भगवानसँग सवैलाई बराबर खाना माग्ने थियो उसले । व्यक्तिगत स्वार्थ, घमण्ड, द्वेश आदि केही पनि राख्दैन, सधैँ मानव आत्मालाई सम्झन्छ । परोपकारको निमित्त समय भए खर्चन्छ । खान पाएका मान्छेले जस्तोसुकै दृष्टिले हेरुन् ऊ विचलित हुँदैन । अहिल्यै खाऊँ, ठूलो ज्यान बनाऊँ भन्ने तमन्ना उसमा कहिल्यै हुँदैन । थोरै खाऊँ, सधैँ खाऊँ भन्ने नै उसको मुल मन्त्र हुन्छ । यो कुनै विश्वविद्यालयमा सिकेको डिग्री होइन, समयले घोट्दा घोट्दै पढाएको पाठ हो । ऊ आफ्नो लागि मात्र कहिल्यै सोच्दैन । खाना देखेपछि छोरा–छोरी, परिवार संझिहाल्छ । चाडपर्व टार्न पु-याउन कडा मिहनेत गर्दछ तर धेरै खुसी रहन्छ ।
खान नपाउने मान्छेले कहिल्यै धिक्कार्दैनन् । घर, परिवार, समाज सवैलाई आदर गर्दछन् । यति गर्दा गर्दै पनि आफन्तको वियोगमा यति कठोर हुन्छन – पृथ्वीमाता काँप्छिन, आत्माको झङकारले सारा संसारलाई बादलले झै ढाक्छ र ठूलो गर्जन गरी ढुंगालाई समेत पगाल्छन् । यिनको आवाजलाई ठूला कविले बोक्नै नसकिने महाकाव्य बनाउँछन् । रुवाइले ठूलो वर्षा गराउँदछन् अनि विलापले ठूला ठूला भगवानको मन समेत ब्याकुल बनाउँदछन् । तैपनि केही समयपछि सम्हालिन्छन् । आफ्नो वज्रलाई थाती राखेर कर्म गर्दै पुनः प्रत्येक दाना दानाको खोजीमा जान्छन् । यिनी सारा प्राणी वर्गका प्रेरणाका स्रोत हुन् । सवैले यिनको कदर गर्न सकेमा मोक्ष पाउन अरु केही गर्न नै पर्दैन । पुलिस, अदालत, आर्मी, गोली–बम सब रद्दीको टोकरीमा पुग्दछन् । यसको सट्टामा प्रेम, भाइचारा, नैतिकता, सभ्यता फैलने थियो ।
खान नपाउने मानिसको नै सम्मान नभएर संसार अरु बढी मारकाट, लडाइँ, हत्या आतङकको चपेटामा खाँदिएको छ । सवै मानिस बराबर होइनन् ? सवैलाई खानको निमित्त पृथ्वी माताले दिन सक्तिनन् ? सच्चा गरिव भनेको खान पाउने मानिस हो, खान नपाउने होइन । परिवार, इष्टमित्रबाट पाउने सन्तोष र खुशी खान पाउनेले पाउँदैन । खान नपाउने मानिस सधैँ मानवको उत्थानको लागि चिन्तन गरी विश्वप्रेम र भातृत्व प्रदर्शन गर्ने प्रेमको ज्ञाता नै हो । उसलाई धेरै चाहिदैन र जे छ त्यसमा नै सन्तोष लिन जानेको छ । त्यसैले उनीहरुलाई सङकेत गर्दै लक्ष्मीप्रसाद देवकोटाले भनेका हुन् –
‘गरिब भन्छौ सुखको म झै धनी
मिल्दैन संसार कहीँ पनि
विलासको लालस दास हैन म
मीठो छ मेरो रसिलो परिश्रम ।’
उनीहरुले आफ्नो छोराछोरीलाई यही सिकाउँछन् । बढी खाएर, ठूलो घरमा बसेर, धेरै द्रव्य भएर वा आरामदायी जीवनबाट खुसी र सुख आउने होइन । आ–आफ्नो परिवेश परिस्थिति अनुरुप आनन्द आफैले लिन सक्नुपर्दछ । खालि भौतिक सामान थपेर मात्रै सुख हुने होइन । यिनीहरु विश्वविद्यालयका ठूला प्रोफेसरहरु हुन् । मानव सभ्यता, प्रेम र भाइचाराका पूजारी हुन् । खानुलाई मात्रै जीवन सम्झदैनन् यद्यपि यसको लागि धेरै समय खर्च गर्दछन् । मोटो हुनुलाई राम्रो ठान्दैनन्, यसलाई रोगको पोको मान्छन् । तंछाड र मछाड गरी मलाई मलाई पनि भन्नेवाला पनि होइनन् । जस्तोसुकै अपमान अरुले गरेपनि खिस्स हाँस्नलाई अघि सर्छन् । खान नपाउने मान्छेले कल्पनामा भएपनि आनन्दले रमाएर बस्न जानेको हुन्छ । भयंकर बढी खाएर हुने रोगबाट र यसको अनुभवबाट बची धेरै खाने मान्छेलाई व्यङग्य हानिरहन्छ । मुटुरोग, क्यान्सर, मधुमेह जस्ता रोग रहरले आउने हो ? कि त यो वंशानुगत हुन प¥यो, होइन भने के त ? खान नपाउने मान्छेले जीवनको वास्तविकता बुझेको छ र अरुलाई बुझाउन पनि खोज्दछ तर दुनियाँले कानमा तेल हालेका हुन्छन् परन्तु यसको भागिदार खान पाउने मानिस आफै हुन्छ । हजारबार भित्तामा टाउको ठोके पनि केही नहुने, जति हात फैलाएर चिच्याई कराए पनि निको नहुने, जति पछुतो र हीनताबोध भएपनि केही नलाग्ने दर्द लिएर आफूसँग मात्र गुम्स्याएर राख्दामा मात्र झल्याँस्स ब्युझन्छ । सवैको साहारा खोज्दछ, आफ्नो कर्तुत बिर्सन्छ । खान नपाउनेलाई संझी उसलाई महान् ठान्दछ तर समय नै वलवान् भन्ने यहाँ लागू हुन्छ । त्यसकारण खान पाएर अथवा खाना खाएर रोग लाग्नु भन्दा खाना नपाएर या खाना नखाएर रोग मुक्त हुनु कुन चाहिँ राम्रो ? यस सम्बन्धमा आ–आफ्नो तर्क हुन सक्दछ । ठीकै गरी खाना खानु नै बेस भन्दछन् मानिसहरु तर खान पाएको मानिसले ठीकै भन्ने शब्दलाई नै खानासँगै चपाएर पचाउँदछ अनि यसको परिणाम भोग्दछ ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)