~डा. रुपक श्रेष्ठ~
मेरो झ्यालको सानो गमलामा
फुलिरह्यौ भर्भराउँदो भएर
बाह्रैमास
नरम सुन्दर सुकोमल
पत्र पत्र फिँजाएर
बिना पर्वाह कुनै ऋतुको
बिना पर्वाह कुनै मौसमको
बिना पर्वाह कुनै मलजलको
फुलिरह्यौ सधैँ सधैँ
न झ्यांगिएर कहिल्यै सेप पायौ
न काँडा लागेर कहिल्यै पीडा साट्यौ
सुनगाभा,
तिम्रो कोमलतादेखि म गलेँ
तिम्रो हार्दिकतादेखि म गलेँ
तिम्रो सौन्दर्यतादेखि म गलेँ
सुनगाभा,
तिम्रो कृतज्ञतादेखि म गलेँ ।
बिर्सेर आफ्ना पुराना शाखाहरु
थोरै घाम, थोरै पानी, र थोरै मायाको भरमा
मुस्कुराइदिन्छौ चुपचाप चुपचाप
लाग्छ तिमी केवल मेरै लागि बाँचिरहेछौ
लाग्छ तिमी केवल मेरै लागि फुलिरहेछौ
बिना कुनै आग्रह
बिना कुनै पूर्वाग्रह
बिना कुनै गुनासो
फुलिरह्यौ सधैँ सधैँ
लाग्छ फुल्नु तिम्रो धर्म हो
लाग्छ रंग भर्नु तिम्रो कर्म हो
सुनगाभा,
तिम्रो निष्ठासँग म हारेँ
तिम्रो भक्तिसँग म हारेँ
तिम्रो त्यागसँग म हारेँ
सुनगाभा,
तिम्रो प्रेमसँग म हारें ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)