~पूर्ण धिताल~
तिमी सधैं कुर्चीतिर जान मन गर्ने।
सधैंभरि सडकतिर हामी जानुपर्ने।
कुर्ची छोड्ने सल्लाह दिंदा तिमी आँखा तर्ने।
यस्तो बेला भन प्रिय मैले कसो गर्ने?
तारे होटल रङ्गीन रात तिमीलाई जाँगर आउने।
जोकिङ्ग गर्न भोटिङ्ग गर्न तिमी रिसोर्ट धाउने।
हरेक दिनमा फरक तालमा तिमी गीत गाउने।
भन प्रिय जनताले कहिले संविधान पाउने?
वर्ग रहेसम्म शोषण रहन्छ त भन्थ्यौ
अवसर आउँदा आफै आज शोषक वर्ग बन्यौ
द्वन्द्व भन्ने व्यापारबाट साठी अर्ब गन्यौ।
भन प्रिय सहिद, घाइते, जनतालाई के भन्यौ?
…तिमीले नै कासन गर्दा १४ हजार मर्ने।
तिमीलाई कासन कसले दियो भैंसी पूजा गर्ने?
बिन्तीपत्र दिल्ली चढाई युरोपतिर सर्ने
भन प्रिय यस्तो बेला मैले कसो गर्ने?
पूँजीवाद नै मुख्य शत्रु भन्थ्यौ कुनै बेला
तिमी आफै भर्न थाल्यौ पूँजीवादी मेला
तिमी चढ्ने सगरमाथा जनतामात्र हेला
हाम्रो प्रीति धरमरायो प्रिय यतिबेला
आठ वर्ष भो प्रिय तिमीले झण्डा हल्लाएको
कहिले मन्त्री, प्रधानमन्त्री पगेरी पाएको
आज पनि हामी भोकै तिमी अघाएको
फिर्ता लिनुपर्ला प्रिय पिरती लाएको
दश वर्षमा वर्गयुद्ध भन्दै पुकारियो
युरोप घुमी आउँदा वर्ग जातिमा सारियो
देशभक्ति र एकताको भावना मारियो
त्यो सक्कली अनुहारको पर्दा उतारियो।
पूर्ण धिताल, जुम्ला
(स्रोत : मजदुर दैनिक)