~मुमाराम खनाल~
“पीएम, तपाईंलाई त जनताले भ्रष्ट्राचारी पो भन्दारहेछन् ।” “सरकार, मेरो बारेमामात्र के ? धेरै मानिसले मसँग भनेका छन्, दरबार हत्याकाण्डमा सरकारको हात छ ।”
राजतन्त्रात्मक वहुदलीय व्यवस्थाका संवैधानिक राजा ज्ञानेन्द्र शाह र कार्यकारी प्रधानमंत्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाबीचको संवाद हो यो । दरबार हत्याकाण्डमा आफ्ना दाजु विरेन्द्रको वंश विनाश भएपछि राजसिंहसानमा आशिन भएका ज्ञानेन्द्रले प्रधानमन्त्रीसंग यस्तो अप्रिय सम्वाद गरेका थिए, जुन राजतन्त्र र वहुदलीय व्यवस्थाको अधोपतन तथा माओवादी र दिल्लीको प्रभाव बिस्तारको कारण बन्न पुग्यो । त्यस पछिको समयमा नेपालमा संसदीय व्यवस्था निकै कमजोर भयो भने राजतन्त्रले समाप्तीको बाटो समायो, जसबाट दिल्ली र माओवादी शक्तिशाली भएर आए । नेपाली राजनीतिको त्यो संक्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकामाथि केन्द्रित रहेर कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले लेखेको पुस्तक प्रयोगशाला मा माओवादीद्धारा संचालित ‘जनयूद्ध’लाई ‘आधुनिक नेपाल निर्माणयताको सबभन्दा ठूलो आन्तरिक चुनौती’ भनिएको छ । पुस्तकले माओवादीको भूमिकाबाट बढेको दरबार र भारतको प्रभावबारे सप्रमाण लेखाजोखा गर्न खोजेको छ ।
विभाजित चौथो महाधिवेशनका अनेक घटकमध्येको एउटा सानो समुह नेकपा (मशाल) को नेताको रुपमा उदाएका पुष्पकमल दाहालले कालान्तरमा माओवादी ‘जनयुद्ध’को कमाण्डर ‘प्रचण्ड’ बनेर दशक लामो सशस्त्र विद्रोह संचालन गरे । भर्खरै वहुदलीय व्यवस्थामा पर्दापण गरेको राजतन्त्रात्मक मुलुकका बर्गेल्ती राजनीतिक अन्तरविरोधहरुहरुको उपयोग गरेको माओवादीले त्यसपछि उल्लेख्य शक्ति आर्जन गर्यो ।
शक्तिको सिद्धान्त नै हो कि त्यो आफैमा स्वतन्त्र रहन सक्तैन । माओवादीको हकमा पनि त्यही भयो । दिल्ली र दरबार आ–आफ्ना रणनीतिक उद्धेश्यका साथ माओवादीसँग जोडिन पुगे । रणनीति अनुसार अरुलाई उपयोग गर्ने भनिए पनि उपयोग त्यसले गर्छ, जो शक्तिशाली छ । दरबार र दिल्लीसँग जोडिएको माओवादी आयामलाई यसरी हेरिनुपर्छ । प्रयोगशाला मा त्यस्ता धेरैवटा प्रशंगहरु छन् । त्यसले माओवादीको विस्तार वा विनास के ग¥यो भनेर अन्तिम मुल्यांकन गर्न सकिने स्थिति अहिले पनि छैन । दिल्ली, दरबार वा संसदीय दलहरु जोसंग मिलेर भएपनि माओवादी सत्तामा पुग्ने अभिष्ट राख्थ्यो भन्ने लेखक शर्माको राजनीतिक निष्कर्ष छ ।
दरबार र दिल्लीको उपयोगको प्रशंगले माओवादीको पार्टी जीवनभित्रपनि निकै ठूलो विग्रह ल्यायो । पार्टीभित्र योजनाबद्ध ढंगले निर्माण गरिएका दुइवटा व्यक्तिवादी केन्द्रको वरिपरि संगठित जमातलाई पनि दिल्ली र दरबारतिर विभाजन गर्ने उपयोगवादी सृंखलाले पार्टीभित्रै एकअर्कालाई सिध्याउने ‘जनयुद्ध’ आरम्भ हुनै आँटेको थियो । र, त्यसको पहिलो कोपभाजनमा दिल्ली उपयोगका अभियन्ता बाबुराम भट्टराई परेका थिए । ज्ञानेन्द्रले राज्यसत्ता लिएपछि दरबार उपयोगका अभियन्ता दाहाल पछि हटेको ‘जनयुद्ध’को परिणती सबैको अगाडि छ । ज्ञानेन्द्रले सत्ता लिन एक हप्ता मात्र नहतारिएको भए ‘जनयुद्ध’ को रुप कस्तो हुन्थ्यो भनेर अहिले अनुमान गर्न गाह्रो छ । यसको विस्तृत वर्णन शर्माको पुस्तकमा छ ।
एकताको प्रशंग होस् वा संघर्षको, मुलतः नेपालको आन्तरिक राजनीतिको चालक शक्ति संसदीय दल र माओवादीको भूमिका नै थियो । धेरै वर्ष संघर्षमा विताएका यि शक्तिहरु एकतामा आउँदा राजनीतिक उपलब्धि हासिल गर्न धेरै समय लागेन । माओवादी ‘जनयुद्ध’को आरम्भदेखि नै संघर्षरत मुख्य शक्तिको रुपमा रहेको संसदीय दलहरुको भूमिकाको खासै चर्चा नहुनु पुस्तकको खड्किने पक्ष हो । तर, लेखकले सुरुमै ‘तात्कालिन राजतन्त्र र भारतीय संस्थापनासँग माओवादीको उतार चढावपूर्ण संबन्ध मात्र केलाउन खोजेको’ वताएर यो गुनासोको जवाफ दिइसकेका छन् । ‘प्रयोगशाला’ मा संग्रहीत तथ्यहरुले मुलुक प्रयोगशाला बनेकोमा शंका गर्ने ठाउँ बाँकी राखेको छैन ।
प्रयोगशाला
सम्पादकः सुधीर शर्मा
प्रकाशकः फाइन प्रिन्ट
मूल्यः हार्ड कभर रु.१०००
सफ्ट कभर रु.६९८
पृष्ठः ४१८+१८