~छम गुरुङ~
आफैंभित्रको—
रगत बगाइएको आवाज म सुन्न सक्दिनँ
गिदी चलेको आवाज सुन्न सक्दिनँ
लाखौं कोशिकाहरू मर्दै रोएका आवाज सुन्न सक्दिनँ
आँसु उम्लेको आवाज सुन्न सक्दिनँ
वर्षौं जेल भोगी बाहिरिएको कैदी झैं निस्किने
पसिनाको आवाज सुन्न सक्दिनँ
हाडका अँधेरो सुरुङभित्र लुकेका
दुःखको आवाज पनि सुन्न सक्दिनँ
जति सुन्छु, आवाज यो दुनियाँमा
आवाजहरूमा म सबभन्दा बढी त मान्छेकै सुन्छु
र मन पराउँछु पनि
तर, फेरि पनि मलाई एउटा आवाजको सधैं
हो, सधैं कमी या खसखस लागिरहन्छ
जिब्रो नभएको मृत्युको आवाज !
(स्रोत : हिमाल खबर ३ कात्तिक २०७०)