~अरुणा बैद्य~
फागुका दिन
दिनभरि नै
मेरी बुढी आमाले
झ्यालबाट बाहिर हेरिरहिन्
हेरि नै रहिन्-
ठिटाहरु, ठिटीहरु
राता, नीला, पहेंला, रङ्गीबिरङ्गी भएर
फागुमा रमाइरहेको ‘लाइभ सिन’ ।
थाहा छ् मलाई
त्यो ‘सिन’ भरि नै
मेरी आमा आफ्नै अतित रमाइन्
आफ्नै बैंशालु फागुमा फर्कीइन्
र, ती पात्रहरुसित
आँफैलाई खेलाइरहिन् मस्त ।
आफ्न दिनहरुमा
फागु खेल्नमा हुरुक्क मेरी आमा
आँगन परदेश नभइदिएको भए अहिले
लौरो घनिष्ठ साथी
नभइदिएको भए अहिले
रमझमको नातालाई मलजल गर्दै
अझै रङ्गिन्थिन सायद
अझै रङ्गाइदिन्थिन् सायद ।
रङ्गिन पाएको भए फेरि
रङ्गाइदिन पाएको भए फेरि
यो फागुको दिनमा
मेरी बुढी आमा
मनभरि खुशी छचल्किएर
उज्यालो पहाड हुन्थिन्
शिशिरमा पलाएको पालुवा भन्दा
ताजा हुन्थिन्
साँझको रक्तिम घाम भन्दा
प्यारी प्यारी हुन्थिन् ।
(स्रोत : नागरिक राष्ट्रिय दैनिक (२०७२ चैत २० गते शनिबार)बाट साहित्य सङ्ग्रहालयले टाइप गरेको । )