~चन्द्र गुरुङ~
ऊ एक कवि
एउटा नयाँ कविता कोर्दै
थियो ।
उसको कवितामा–
आकाश,
बादल,
पुतली,
फूल,
वर्षात
र, थिए अन्य अनेक ।
उसले
आकाशको अनुहार सिँगार्न
आकाशैभरि सुन्दर बादलहरू
झुण्ड्याइदियो
साँच्चै,
आकाश गजब देखियो ।
यसरी नै बादलमा
जीवन भर्न
उसले पुतलीको उन्मुक्त
उडान थपिदियो
बादल मस्त उड्न थाल्यो ।
त्यसपछि
पुतलीलाई सुन्दर बनाउने
विचारले
फूलको रंग
उसले
पुतलीको ज्यूभरि छ्यापिदियो ।
र,
फूललाई रमाएको हेर्न
उसले सुनायो फूललाई
वर्षातको रिमझिम
फूल रमाउँदै नाच्न
थाल्यो ।
उसले,
बेला बेलामा रुन खोज्ने
वर्षातलाई
माथि आकाश देखायो
वर्षात
फेरि सुरिलो गुनगुनाउन
थाल्यो ।
यसरी
–आकाश र बादल
–बादल र पुतली
–पुतली र फूल
–फूल र बर्षात
–वर्षात र आकाश
अहा !
कति सजिलै कविले
थुप्रैथुप्रैलाई
एकआपसमा जोड्दो रहेछ ।