~प्रकाश सुनुवार ‘निराकार’~
मेरो देशले अहिले
सपना वाँड्नेहरु
र, फोकटमा वाँडिएका सपना टिप्नेहरुको
खहरे धानीरहेको छ ।
खहरे अहिले
शहरका मुल सडकहरुमा
गाउँका गोरटोहरुमा
आँखा चिम्लिएर
जथाभाबी उर्लिएर पसेको छ ।
पहिरो जाने क्रम पनि जारी छ
शहर र गाउँलाई जोड्ने पुलहरु भत्काइरहेको छ
नाश गर्न पल्केको छ ।
खहरेले पु¥याएको क्षति
हिसावकिताब राखी साध्य छैन
ठुलाबडालाई पटक्कै असर परेको छैन
असर त केवल सर्वसाधारणहरुलाई परेको छ ।
थाकथाक पिडा टाउकोमा बोकेर
गाउँ, बस्ती अनि शहरहरु
आपसमा मारामार गर्दै
भिडभाड गरेर ठेलम्ठेल गर्दै
होहल्ला गर्दै
सपना बाँड्नेहरुको पछिपछि कुदिरहेका छन्
उनीहरुलाई भेट्टाउन पछ्याइरहेछन्
आफु थाकेको विर्सिएर
आफु भोकाएको विर्सेर
आफु तिर्खाएको विर्सेर
लुखुरलुखुर तिनीहरुलाई पछ्याइ मात्र रहेका छन् ।
केवल पछ्याउने काम भएको छ
पछौटे हुने काम भएको छ ।
उनीहरुलाई थाहा छ
सपनाहरु पानीका फोकाहरु हुन्
कुनै पनि बखत फुटेर विलय हुने छन्
तर पनि पछि लागिरहेका छन्
पछि लाग्ने –
बानी परिसकेका छन्
बानी पारिसकेका छन् ।
सहि र गलत छुट्याउन नसक्ने बनाइएका छन्
भत्किएको भविष्य बोकेर
सपनाको आशामा वाँच्ने वानी पारिसकेको छन् ।
र सपना बाँढ्नेहरु
अझ ठुल्ठुलो आवाजमा बोलेर
अझ ठुल्ठुलो अक्षरहरुमा छापिएर
केवल
सपनाका कृतिम भिड स्थापित गर्दैछन्
अनबरत रुपमा धोखा दिइरहेछन् ।
(१२ जुन २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)