~हेमन यात्री~
साँझमा सँगै हिँड्ने जूनकीरीलाई थाहा छ
बाटामा कोही पर्खिबसेको चौतारोलाई पनि थाहा छ
पश्चिमले सधैँजसो उज्यालो चोरी लगेपछि
हेर्नलाई ताराहरू मात्र छन् मसित
हिँड्नलाई एकान्त मात्र छ मसित ।
यो त्यही एकान्त हो
जसले युगौँदेखि सुनिरहेको छ
साँझमा मेरै जस्तो अतीत बोकेर बग्ने
खोलाको संगीत
यी बाटाका रूखहरू तिनै हुन्
जहाँबाट यौटा अन्तर हिलाउने मीड
रेटिरहेकै छन् चराहरू ।
यात्रामा तिनै लयहीन खोलाका संगीत
चराहरू बसेर सोप्योङ* गर्ने बाटाका रूखहरू
र एक्लो
बिलकुल मै जस्तो एक्लो
बाटो पनि छ मसित ।
मैले जस्तै
एक्लो यो साँझको बाटो
कति हिँडे होलान्,
काँधमा बन्दुक बोकेर
मेरो देशको संविधानले
यही चौतारोमा सुस्केरा हाल्दै
कति हेरे होलान् खसमको तस्बिर
झिक्तै जूनकीरीको उज्यालोमा ।
र, मैलेजस्तै कति लेखे होलान् आँसुको मसीले
साँझभरि हिक्क-हिक्क छुटेका सम्झनाहरू ।
*साउती मार्नु
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अंक: ५१८ )