कविता : प्रश्न गरिनँ

~शिरिष पराजुली~Shirish Parajuli

उहिल्यै बाजेको पाला देखि घिस्रिदैं
लड्दै र चढ्दै आयो प्रजातन्त्र तर
मैले प्रश्न गरिनँ यस्को वैधानिकतामा,
र पो भोग्दैछु गरिबी र बेरोजगारी ।

देशको भूगोल र नक्सामा
किरिङमिरिङ सिमाना
सिमानामा नौलो झण्डा
झण्डा प्रति प्रश्न गरिनँ,
र पो कोर्दैछु सिमानाको चपेटा र पीडा ।

तल्लो घरको दलितले इनार छुँदा
समाजले गरेको विद्रोह
म समाजको पात्र भएर पनि
विद्रोहको कारण प्रति प्रश्न गरिनँ,
र पो देख्दैछु छुवाछुतको हुरी ।

उत्तरआधुनिवादमा पाइला चाल्दा
परम्पराको जुत्ता लगाएर
मैले मूर्ति पूजा गरें
तर मूर्ति प्रति प्रश्न गरिनँ,
र पो सुन्दैछु मान्छे मूर्ति भएको ।

साँचो प्रेमको कथा मात्रै आजकल
कथामा भित्र छल छ
प्रेमको मूल्य सस्तो भयो
सस्तो प्रति प्रश्न गरिनँ,
र पो थुन्दैछु प्रेमलाइ आफ्नै मुटु भित्र ।

नातावादले नछोएको म
‘वाद’ नमन्दा भएको वादविवाद
वादविवाद होइन विवाद हुँदा
मैले ‘वाद’ लाइ प्रश्न गरिनँ,
र पो चुन्दैछु कुनै झण्डाको ओशिलो छायाँ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.