~रामकृष्ण सुनुवार ‘आँकाला’~
मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।
एक दुई घुट्का कप गर्दागर्दै
दुई चार बोतल रित्याएँ
आँखा तिरमिर भई ताराहरु झुल्किए
उज्यालो भो जताततै आगो भै दौडिएँ
मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।
मैले नशा पिईन
प्रियसीको याद पिएँ
उनको खुशीमा आज
आफैं बेहोस भै दिएँ
मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।
पखेटा पलाएथे
तब आकाश मार्गमा झैं उडें
कान्ला माथिबाट धर्मरिन्दै
तीन चित परी ढाँड खुस्काएँ
ऐया ! मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।
अजङ्गको राक्षस भई
उसलाई भुसुना देखें
मुक्का प्रहार गर्दा खेरी
आफैं भूँईमा पछारिएँ
ऐया ! मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।
ख्यालख्यालमा खुकुरी उज्जिए
निहु खोजाखोज भए
लौ काट तैं काट भनिए
हातहरु मिसामिस भए
मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।
मित्रहरु शत्रु भए
दुई चार थप्पड को कसले दिए
दाँतहरु एछिट्टिए
भूँईमा एक्लै छोडी गए
ऐया ! मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।
रातभरी कहाँ लडें थाहै भएन
आफ्नै ओछ्यान सम्झिएँ
नशा छुट्यो थुईक्क म
फोहर नालामा लडेको पाएँ
मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।
अनुहार भरि निलडाम सुनिए
उसको हो कि मेरो नचिनिने
छरिएका दाँतहरु सबै
कसका हुन् भन्नै नमिल्ने
ऐया ! मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।
(स्रोत : रामकृष्ण सुनुवार “आँकाला”को कबिता संग्रह ‘सन्तानहरु’ बाट)