~मसान उपासक~
महोदय ,
भो यसरी नतर्साउनुस् अब
मलाई पनि देशको माया असाध्यै लाग्छ
पुरानो नागरिकताको रापमा बसिरहँदा
गुनगुनाउँछु यही देशको राष्ट्रिय गान
नपोलेको भए यही नागरिकतालाई
कसरी थेग्न सक्थ्यो र सरकार
मेरो रामभरोसले अचाक्लिको सितलहर
र जित्न सक्थ्यो आउँदै गरेको काल
तिम्रो अखबारले छापेका सबै सत्य हुन्
मलाई मेरो अनुहारको वर्ण थाहा छ
मलाई मेरो नागरिकताको नम्बर थाहा छ
मैले यही सालको सितलहर
छल्न सिलाएको कट्टुमा परेको झन्डाको रङ्ग थाहा छ
तिमीले पठाएको गोलाइ सल्काउन
च्यातेका कागजका प्रत्येक पानामा
परेका मौलिक हकहरु प्नि थाहा छ
यद्यपी आएर साँघुरा कोठाकोठामा
चिसोले सहनै नसक्नेगरी सताए पछि
गुमाएर सबै चेतना
मात्र तापेको हुँ सितलहर
महोदय ,
भो यसरी नतर्साउनुस् अब
मलाई पनि देशको माया असाध्यै लाग्छ
हलक्कै हुर्किरहेको मकैको बोट
यही देशको माटोमा रोपेको हुँ
मेरो खेतमा फुलिरहेको धान
तिमीले हेर्ने गरेको तारासँग जिस्कन्छु
मेरो प्रेम –खुसी– उज्यालो सबै यही देश हो
घर फर्किरहेका मान्छेहरुको ताँतीमा
बरफ बेचेरै लिएको हुँ लालपुर्जा
जिरा बेचेरै बनाएको हुँ घर
तिम्रो विकासे चारोमा परेको पैसामा
मेरो पनि अलिकति रगत परेको छ
महोदय ,
भो यसरी नतर्साउनुस् अब
मलाई पनि देशको माया असाध्यै लाग्छ
तर कसैगरि
एक टुक्रो धारिलो सिसाजत्तिकै खतरनाक नबनाउनु
अर्को सालको सितलहर छल्न
मैले मेरै रामभरोसलाई
चोकमै बसेर तापिरहेको खबर
चियाको चुस्किसँगै सिंहदरबारले पढ्नु नपरोस् ।
छतिवन ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)