कविता : प्रेम निभेको कोठाबाट

~सुरज राना~Suraj Rana

तिमी गए पछि नै
हावामा आगोका फुलहरु फुल्न थालेका हुन

अँध्यारो कोठा भित्र
झ्यालको प्वालबाट छिरेको किरणले
एउटा उज्यालो रेखा बनाउछ
जुन रेखामा अलौकिक खुड्किला बनाएर
म आफ्नै मृत सपनाहरुको मलामी जान्छु

भित्तामा टागिएको पोट्रेटबाट
चुहीइ रहन्छ भुक्षय झै
मेरो आफ्नै अनुहारको अक्रेलिक रङ्ग
जस्लाइ हेरिरहन्छौ तिमि मौन मौन
पोट्रेटको फ्रेमभित्र म सङ्गै उभिएर

टेबलमाथी छरपस्ट किताबहरु छन
किताबबाट उडि रहन्छन अक्षरका झिल्काहरु
अक्षरका झिल्का- झिल्कामा जहर गन्हाउछ
म अक्षरमा ज्वारभाटा देख्छु
म अक्षरमा उत्तेजना देख्छु
म अक्षरमा उद्वेलन देख्छु
यी अक्षरहरुको परितप्तता सङ्ग्रह गरेर
म तिमिलाइ लेख्न रुचाउछु

ओछ्यानमा महासागर ओछ्याइएकोछ
तातो कोइलाहरु उम्लने महासागर
मेरा रातहरु भतभती जलेर भस्म बन्छन
त्यहा केवल अध्यारो मात्रै शेष रहन्छ
अध्यारोमै अध्यारोले अध्यारो आकृति बनाउछ
तर म देख्न सक्छु तिमिलाइ त्यहा पनि

कोठामा अरु चिज केही पनि छैन
रित्तो रित्तो छ, बिल्कुल रित्तो
तर त्यही रित्तोपनको रिक्तताहरु ठोक्काएर
चिच्याइ रहन्छ सन्नाटा जोड जोडले
हिउदले पनि छादेर जान्छ ह्वालह्वाली ज्वालामुखि
बसन्त आउँछ ओठमाथि मरुभुमि फुलाएर
खसि रहन्छ निमेष प्रती निमेष
ब्रम्हान्डको हिस्सा -हिस्सा क्षेप्यास्त्र बनेर
कोठाको महासुन्यतामा

तिमि गए पछि बनेको
यस युगको सबै भन्दा निरङ्कुश प्रेमि- म
क्याक्टसले परेड खेल्ने
चट्टान नै चट्टानको साम्राज्यभित्र बाट
आजिवन- आजिवन
गुलाबलाइ फुल्न निसेध गरिएको घोषणा गर्दछु

सुरज राना
धरान सुनसारी

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.