~कविन्द्र अज्ञात~
रत्नपार्कबाट लगनखेल जाने टेम्पोमा चढेको थियो ऊ। बसपार्कमा एक युवती चढिन् टेम्पोका सहयात्री बनी। उनको ठ्याक्कै सामुन्ने बसेकी थिइन् उनी। काली काली हिस्सी परेकी। लाम्चो अनुहार। न तडकभडक न सामान्य। उनलाई लाग्यो विश्व सुन्दरी के सुन्दरी। नजर चोरी चोरी हेर्दै थियो ऊ। एकपटक आँखा चार भइहाल्यो। मुसुक्क हाँसिन् उनी। उसले सोच्यो- लौ माया भनेको गरेर हुँदैन, आफै हुन्छ भन्थे। त्यो एउटा गीत छ नि- पिरति आफै हुँदो रैछ। माया बस्यो, उसले सोच्यो। पहिलो नजरको प्रेम यसैलाई भन्छ क्यारे।
घर छेउमा डेरा गरी बस्नेको कोठामा आफ्नो कोठाको आँखिझ्यालबाट कुन्नि केको आशामा चियाउने गरेको बिर्स्यो उसले। पहिलो पटक चिठ्ठी लेखेर दिँदा स्कूलकी फर्स्ट गर्लले हकारेको सम्झी सम्झी रिस उठ्यो उसलाई। छि त्यो त कस्ती नराम्री ! उसले मनमनै सोच्यो। अहा, यिनी त…स्वर्गकी परी। यी भर्खर फेरि मलाई देखेर हाँसी। पक्कै यिनले पनि मन पराइन् जस्तो छ।
टेम्पो ठ्याक्क रोकिँदा उनको तन्द्रा भंग भयो। जावलाखेल पुगेको रहेछ।
ती युवती उत्रिइन् जसको बारेमा ऊ सोचमग्न थियो। मोटरसाइकलमा आएका एक युवकलाई हाई राजेश भन्दै बाटैमा अंगालो मारिन् उनले। अनि टपक्क टाँसेर हाँस्दै जुतिर लागिन् मोटरसाइकल पछाडि बसेर।
झ्यालबाट यसो हेर्यो- लगनखेलमा मानसिक अस्पतालको बोर्डमा नजर ठ्याक्क ठोकियो।
उसको पहिलो प्रेम।
यस पटक पनि अधुरै रह्यो।
November 8th, 2008
(स्रोत : माइ संसार डट कम)