~कल्पना चिलुवाल~
निकाल त्यसलाई यो सभाबाट
जसको कमिजबाट आजसम्म पनि
आइरहेछ बारुदको गन्ध
बारुदको गन्धले
सम्झाइदिन्छ आफ्नै विगत
त्यो बिर्सन पनि
अब त अलिअलि भए पनि
ह्विस्की र वाइन गनाएकै राम्रो
अब त थोरैथोरै भए पनि
रेड लेबल र सिज्लर गनाएकै राम्रो
कुन मजुदर छ यहाँ
पलेटी कसेर बसेको
जसको शरीरबाट आइरहेछ
निरन्तर-निरन्तर पसिनाको गन्ध
निकाल त्यसलाई पनि
निकाली हाल यहाँबाट
पसिनाको गन्धले
सम्झाइदिन्छ आफ्नै विगत
त्यसलाई भुल्न पनि
अलिअलि अत्तर बसाएकै राम्रो
थोरैथोरै भए पनि
सुकिलाहरूको साथसङ्गत नै राम्रो
कसले पोको पारेर ल्याएको छ यहाँ
प्वाल परेको आफ्नै टोपीमा
सुकुम्बासी छाप्रोको धुँवा
यसले पनि सम्झाइदिन्छ मलाई
भूमिगत जीवनका कष्टकर दिनहरू
निकाल यसलाई पनि
निकाली हाल यहाँबाट
अब त
अलिअलि भए पनि
ब्रान्डेड चुरोट गनाएकै राम्रो
म त यहाँ
प्लेनबाट उडेर आएको मान्छे
गनाउँछ मलाई
यो धर्तीको धुलो
निकाल
निकाली हाल
कुन किसानले कुल्चेर आएको छ
आफ्नो बारीको माटो
म त देशविदेश भ्रमण गरेको मान्छे
माटोमा उम्रेको भन्दा
मलाई त अलिअलि भए पनि
समुद्री परिकार नै राम्रो
किन आए यी गनाउने मान्छेहरू
मेरो भव्य सभामा
निकाल, निकाली हाल यहाँबाट
किशोरावस्थामा खेलाएको बारुद
आजसम्म बोकी हिंड्ने
त्यो अधवैसे पूर्वछापामारलाई निकाल
पसिना गनाउने मजदुरलाई निकाल
धुँवा गनाउने सुकुम्बासीलाई निकाल
माटो गनाउने किसानलाई निकाल
म उच्चवर्गीय ‘मुड’ बनाउन आएको मान्छे
‘मुड’ बिगारिदिने
यी सब निम्न वर्गीय मान्छेहरूलाई
निकाल, निकाली हाल
मेरो भव्य सभाबाट
क्रान्तिको हिलो गनाउने
यी भ्यागुताहरूलाई
निकाल यहाँबाट
म त बाघले झैँ छलाङ मार्न हिंडेको मान्छे।
(स्रोत : नेपालखबर डट कम)