~चित्र लक्ष्मी~
टिरिङ टिरिङ बज्ने तिम्रो गला
संगीतको धूनभन्दा कम थिएन
तिम्रो जोबन जूनभन्दा कम थिएन
राम्मोराम बसन्ती!
तिम्रो मोल सुनभन्दा कम थिएन।
उन्मुक्त बैंसमा तिमीले
मरक्कमरक्क चपायौ रोडा र कंक्रीट
अत्तर मानेर सुँघ्यौ गाउँले धूलो
चटायो सहरले अलकत्राको ललिपप
राराको आहालमा तिमीले केश फिजाउँदा
कति माछी बल्झेका थिए कति!
आहा ती दिनहरु
रमाइला ती छिनहरु
आए,गए र सक्किए
घरका खामाझैं मक्किए।
आज तिमी मिल्किएकी छ्यौ
आँगनको घुर्यानमा
म मिल्किएको छु
आफ्नै कुन्टीको रछ्यानमा।
न जुँगामा ताऊ छ
न कुनै बजार भाउ छ
तिमीलाई त्यो नाथे नूनले नपत्त्याउने भो
मलाई टायरको चप्पलले नि लत्त्याउने भो।
आऊ बसन्ती
सँगै बसेर सुख दु:खका सजना गाऔं
मृदङ ‘खोट’मा पैंय्या मिलाउँदै सखिया नाचौं
र, सगर्व उद्घोष गरिदिउँ कि,
हाम्रा पैताला घिस्सिएर के भो?
छाती घिस्सिएको छैन,
हाम्रा यी तन थिच्चिएर के भो?
उत्तप्त यी मन त थिच्चिएका छैनन् नि!
(२०७३ कात्तिक २)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)