~भूपेन्द्र सुब्बा~
पहिला पहिला यस्तो थिएन।
समय पनि थिएन
उमेर पनि थिएन।
त्यसैले
अहमको होड भन्ने थिएन।
अरुलाई टेक्दै माथि उठ्ने दौड थिएन।
संवेदनालाई कुल्चँदै कुद्ने हतारो पनि थिएन।
अघि खालि चट्टान मात्र थियो।
चट्टानमा खोपिएको बुद्ध थिएन
राम थिएन। यीशु थिएन।
थिएन मोहम्मदको मक्का पनि।
त्यसैले
ढुङ्गा हानाहान गर्ने
ढुङ्गे मुटु पनि थिएन।
उहिले माटो मात्र थियो।
माटोमा रोपिएको काँडे-बार थिएन।
स्वागतको नमस्कार पनि थिएन
निषेधको लाखेस पनि थिएन।
आज्ञा थिएन। अवज्ञा थिएन।
हुकुम थिएन। शासन थिएन।
त्यसैले
शासक पनि थिएन
शासित पनि थिएन।
पहिले साह्रै खुल्ला फाँट थियो।
नानाथरि विचारको धमिलो रङ थिएन।
मार्क्स हेगेल सार्त्रे कोही पनि थिएन।
अहङ्कार थिएन हतियार थिएन।
त्यसैले यो ठाउँ युद्धमैदान भएकै थिएन।
तर…
मान्छेको गोलो मस्तिष्कको
अमिलो फल चाखेदेखि यसो
यौटा निर्वासित जिन्दगीका बेलाहरु
गन्दै
चाउरिँदै
रोगिँदै
बस्नु नै भएको छ धरती।
उहिले उहिले तर यस्तो केही थिएन।