~राबत~
यी मान्छेहरूको जीउभरि नीलडाम छ
पक्कै केही हुन्छ यहाँ बडो धुमधाम छ ।
त्यसै चिच्याएको हैन, त्यो बेसुरले
उसको आङमा न लुगा छ, न घाम छ ।
मुर्दाले पनि आगो निल्नुपर्छ यहाँ
ज्यूँदाहरूका लागि कहाँ आराम छ ?
किन यस्तरी चल्दैछ आँधी–तुफान !
सायद आउन लागेको नौलो याम छ ।
तिम्रो जन्मै यस्तो दोसाँधमा भयो कि,
पछाडि अन्धकार, अगाडि सङ्ग्राम छ ।
कसैले भन्यो– पिउन छाडिदे राबत !’
प्रहरीको सूचीमा तेरो नाम छ ।
(स्रोत : गजलवाटिका )