~गणेश कार्की~
हो साथि
म अहिले भूतकालमा बाचिरहेको छु
तिमीले अस्ति देखेको सन्सार
म आज देख्दैछु
तिमीले हिजो भोगेको जीवन
मैले भोलि भोग्न पाए
म एक्काइसौ शताब्दी टेकेको मान्नेछु
म आजभोली
यो बाटो नपुगेको सभ्यतामा
बासि अखवारका पन्ना बाट
ताजा समाचारहरु छान्दैछु
तिम्रो र मेरो जीवनमा
यत्ति फरक म सोच्न सक्दिन
किन तिमि उचाइमा छौ
किन म धर्तीमा छु ?
किन तिमि त्यस्ता भयौ
किन म यस्तो छु ?
तिमीले पसिना बगाउदा
मैले रगत बगाए
तिमीले माटो छुदा
मैले ढुंगा पल्टाए
तर आज
तिमि इन्टरनेट को फूलबारीमा छौ
र ,
ब्लोगिंग खेल्दैछौ
म जंगलमा गिठ्थासंगा छु
र , दंदिबियोमा रमाउदैछु
तर हेर
कुनै दिन हामी एउटी धरातलमा थियौ
र , फेरी
एक दिन उस्तै परिवेशमा हुनेछौ
जब म
मेरो बारीको नस्पातिको फेदबाट
तिमीसंग भिडियो च्याट गर्नेछु
त्यसबेला तिमीले देख्नेछौ
मेरो संसारमा पनि निलो आकाश छ
मेरो आकाशमा पनि बादल देखिन्छ
तिमीले मान्ने पर्छ त्यसबेला
मेरो सन्सार पनि तिम्रै जस्तो छ .
February 17, 2010
(स्रोत : रचनाकारको ब्लगबाट सभार)