~बिक्रम सुब्बा~
कविले कविता लेख्दैमा
– कविता राम्रो भयो भन्न सकिन्न
कविता राम्रो हुँदैमा
– पाठकले पढे भन्न सकिन्न
पाठकले पढ्दैमा
– कविता मनपराए भन्न सकिन्न
कविता मनपराउँदैमा
– कविताले धारणा फेर्न सघायो भन्न सकिन्न
धारणा फेरिँदैमा
– व्यवहारमा लागु गरे भन्न सकिन्न
व्यवहारमा लागु गर्दैमा
– भनेजस्तो मानिस बने भन्न सकिन्न
भनेजस्ता मानिस बन्दैमा
– समाज सप्रियो भन्न सकिन्न
सामज सप्रिँदैमा
– मुलुक सप्रियो भन्न सकिन्न
मुलुक सप्रिँदैमा
– सारा मानिस सुखी भए भन्न सकिन्न…
…. ….. …..
ओहो !!!
हाम्रैजस्तो कविताको जिम्मेवारी सम्झेर
कवितालाई सलाम गर्न मजबुर छु ।