~देवेन्द्र अर्याल ‘आँसु’~
ऊ जहिले पनि राजकुमारसित हाँसखेल गरेको सपना देख्थी । यसो निद्रा लागेर पल्टियो कि राजकुमारको सपना नै देख्थी । सपनामा उसको राजकुमार यसलाई भेट्न आइहाल्थ्यो । ऊ बारम्बार त्यही सपना देखेको आफ्ना साथीसङ्गीलाई भन्ने गर्दथी ।
एक दिन ऊ त्यही सपना देखिरहेकी थिई । सपनाको नियमिततासँगै उसका कपडाहरू पनि क्रमभङ्ग हुँदै गए । ऊ राजकुमारको पछि लागी ।
अन्त्यमा, उसले आफ्नो राजकुमारलाई भेटी अनि भेटेपछि च्याप्प अङ्गालो मारी । उसमा खुसीको सागर उर्लियो । होस नै रहेन ।
जब ऊ शीत भई, तब उसले आफूमाथि केही गह्रौँ बस्तु रहेको अनुमान गरी र आँखा खोली । अझै पनि उसको सपनाको राजकुमार त्यहाँ नै थियो । त्यहाँबाट गएको थिएन । ऊ राजकुमार खोज्दै त्यहाँ पुगेकी थिई । त्यहाँ त सपनाको राजकुमार नभएर उसको घरको नोकर थियो । अनि, भोलिपल्ट बिहानै अर्थात् विपनामा त्यो उसको सपनाको राजकुमार त्यस घरबाट निक्लिसकेको थियो ।
-गोलढुङ्गा-३, काठमाडौँ
(स्रोत : मधुपर्क २०६६ चैत)