कविता : सुनेको पोखरा

~कृष्ण वस्ती~Krishna Wasti_1

फेवाको जलमा मानों, माछापुच्छ्रे नुहाउँछ ।
बिहानी घामको टोपी, शिरमाथि लगाउँछ ।।

महे्न्द्र-पुलको शोभा, बाटुले-चौरको मजा ।
बृद्धाका पनि फुक्छन् रे, गालाका चाउरी-मुजा ।।

स्वर्गको जून बोकेर, रात झर्छ मुटु छुन ।
सारङ्गीसँग बज्छन् रे, पिरतीका सबै धुन ।।

लेकबाट झरोस् चाहे, बेंसीबाट चढोस् उँभो ।
सुस्ताई कुहिरो मार्छ, थकाइ पोखरा-उँदो ।

मान्छेमात्र कहाँ हो र !सेती गीत सुसाउँछ ।
ढुङ्गामा पनि बैंसालु, चोखो प्रीत टुसाउँछ ।।

तालका छेउमा ताल, दिई बज्दछ मादल ।
बिजुली-नृत्यकासाथ, गुन्गुनाउँछ बादल ।।

हिमाली कन्दरा डुल्दा, सुसाएका सुनी गला ।
दियो कि पोखरालाई, नियतिले सबै कला ।।

मानों सिर्जनको स्रष्टा, पोखरामा रमाउँदै ।
बिसाई सीपका भारी, गुफा पस्छ लजाउँदै ।।

नियतिले खिपेजस्तो, पोखरा यो उमङ्गले ।
दियो मानिसले बाँकी, सुनमाथि सुगन्ध रे ।।

जता हेर्यो उतै राम्रो, पोखरा यो मनोहर ।
गाउँदै शिशु जन्मन्छ, अरुको के कुरा छ र ?

सुनेकोमात्र हो मैले, पुगेको छैन पोखरा ।
डुल्छन् रे स्वर्ग छोडेर, पोखरातिर अप्सरा ।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.