कविता : मन

~केशव आचार्य~Keshav Acharya_1

मन,
सधैंभरि हाँस्दैन
मन,
सधैंभरि रुँदैन पनि
मन,
कहिले काहीं
अमिलो हुन्छ र कुँडिन्छ
वाक्वाकिन्छ
र यस्ले ह्वाल्ह्वाल्ती
बान्ता गर्छ
अनि शिथिल हुन्छ
र दुख्छ ।
कहिलेकाहीं यही मनभित्र
मीठो घाम झुल्की दिंदा
अट्टहाससित हाँस्दै
रमाउँछ र खुब रमाउँछ
मनभित्र
धेरै जसो कालो बादलको
गर्जना भइदिंदा
मन छातीभित्रबाट
उर्लिएर आँखाको डिल
भत्काउँदै बाहिरिन्छ
अनि छताछुल्ला भई
पोखिन्छ ।
मन,
कहिले काहीं
टुक्रिन्छ फेरि जोडिन्छ पनि
सहन नसक्दा
अथाह व्यथाहरु
तोडिन्छ पनि ।
यसको सीमारेखा नहुँदा
हुलहरुलाई छक्याएर
अन्त कतै मोडिन्छ पनि ।
मन,
कसैसँग
आफन्त पनि हुनसक्छ
यो कसैसँग पराइ पनि
हुन सक्छ,
निस्छल भएर अदृश्य बनी
हराउन पनि सक्छ ।
असैह्य पीडा छातीभित्र
सल्किएको बेला
मध्यरातमा एक्लै
कराउन पनि सक्छ ।
मन,
अनिंदो पनि हुन्छ
कहिलेकाहीं,
घोंचिदिंदा तिखो काँडाले
छट्पटिरहन्छ बिस्तरामा
पीडाहरु ओछ्याएर
एक्लै एक्लै शून्य रातमा … !

डेनभर, कोलोराडो, अमेरिका

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.