~विनोद न्यौपाने~
म
देश बिर्सिएर जीउन पनि सक्दिन
म
देश सम्झिएर रुन पनि सक्दिन ।
मेरो
रगत र पसिना बगेको देश
म
जन्ती र मलामी भएको देश,
म
हली र गोठालो भएको देश
म देखि कोसौँ टाढा
प्रसव वेदनाले पिल्सिएको बेला
गह भरि आँशु पारेर
मन भरि गाँठो पारेर
रुन पनि सक्दिन ।
म रुँदा
मेरो आँशु
गोहीको आँशु भैदिन्छ ।
म
देशै छाडेर भाग्ने
भगौडा भैदिन्छु ।
अनि
विवश भएर
म आपैmलाई
प्रश्न गर्छु
के चारो खोज्न गएको चराको
गुँडसँग नातै हुन्न र ?
के चरण गएको गाईको गोठसँग ,
नातै हुन्न र ?
चराले त गँुड भुल्न सक्दैन भने
गाईले त गोठ भुल्न सक्दैन भने
म त मान्छे हँु मान्छे ।
सयौँ तले भवनमा
वास बसे पनि
म
मेरो छाप्रो
कसरी भुल्न सक्छु र ?
मैले
ढिकी र जाँतो गरेको छाप्रो
मैले
लिपपोत र टालटुल पारेको छाप्रो
धरधराई ढल्न खोज्दा
दन्दनाई बल्न खोज्दा
म
कसरी मन थाम्न सक्छु र ?
म
नरोई कसरी बस्न सक्छु र ?
जसले जे भने पनि
मेरा गोठका
माली गाई र तारे फुर्के गोरुहरुले
मेरा टाट्नाका
घोर्ले खसि र सिंगारी पेटारी बाख्राहरुले
मेरा सपना भरि ,
घाँस पानी मागिरहेकै छन् ।
जसले जे भने पनि
बिनायो , मुर्चुङ्गा र मादलका धुनहरु
मेरा कानमा गुञ्जिरहेकै छन् ।
मेलापात र हाट बजारतिर
हाकपारे र दोहरी गाएको
म
आजै कहाँ भुल्न सक्छु र ?
म
देश बिर्सिएर कसरी जीउन सक्छु र ?
म
देश बिर्सिएर कसरी जीउन सक्छु र ?
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १, अक्टोबर २०१३)