~श्रेष्ठ सत्य~
भनिन्छ, यौटा भेँडा भीरबाट हामफाल्यो भने अन्य बाँकी भेँडाहरु पनि त्यही भेँडाको सिको गर्दै भटाभट भीरबाट फाल हाल्न थाल्छन् । त्यसैले होला आफ्नो बुद्धि र विवेकको किन्चित पनि प्रयोग नगरी अर्काको पछि लाग्ने मानिसलाई भेँडाको संज्ञा दिइन्छ । भेँडाले त्यसो गर्छ या गर्दैन त्यो त मैले देख्ने मौका पाएको छैन तर मानिस भने अनादिकालदेखि नै त्यही गर्दै आइरहेको छ । यस अर्थमा मान्छे भेँडा झैँ भएको छ । वास्तवमा मान्छे जति भेँडा प्राणी अरु पाउन मुस्किल छ ।
मानिस आफूलाई आफै सबैभन्दा विकसित र सर्वोत्कृष्ट प्राणी भनेर गर्व गर्दछ । तर मान्छे भेँडा भन्दा केही पनि फरक छैन । बरु भेँडाले आफ्नो केही अक्कलको प्रयोग गर्ला तर मानिस थोरै भन्दा थोरै पनि आफ्नो बुद्धि, विवेक र अक्कलको प्रयोग गर्न असमर्थ छ । खालि अर्काको पछि लागेर नै मानिसले आफ्नो अमूल्य जीवन खेर फालिरहेको छ । आफूलाई आफै सबै भन्दा बुद्धिमान प्राणी भन्न रुचाउने मानिस भेँडा जस्तै आँखा चिम्लेर अर्काको पछि मात्र लागिरहेको छ र यसो गर्नुलाइै नै उसले आफ्नो पुरुषार्थ ठानिरहेको छ । मानिसले भेँडा हुन छाडेर अलिकति मात्र आफ्नो बुद्धि, विवेकको प्रयोग गरिदिएको भए आज यो संसार अर्कै हुने थियो । अशान्ति, हिंशा, असुरक्षा र आतंकको बदला यो धर्तीमा शान्ति, सद्भाव, प्रेम र अमनचयन कायम भएको हुने थियो ।
आज दिन दुगुणा, रात चौगुणा पृथ्वीमा अशान्ति, असुरक्षा, हिंशा र आतंक मौलाउँदै गइरहेको छ । मानिस मानिसबीचकै युद्धका कारण आज मानव अस्तित्व नै संकटमा फँस्दै गइरहेको छ । यसका निम्ति प्रमुख रुपमा मानिसको भेँडा प्रवृत्ति नै जिम्मेवार रहेको छ । भेँडाले अर्को भेँडालाई मार्दैन तर मानिसलाई आज सबैभन्दा बढी खतरा छ त केबल मानिसबाटै । यस अर्थमा मानिस भेँडा भन्दा पनि निम्नस्तरको प्राणीमा खस्किन पुगेको छ । मानव जातिको इतिहासलाई पल्टाएर हेर्ने हो भने र उसको वर्तमान अवस्थालाई नै पनि नियालेर अध्ययन गर्ने हो भने पनि अनादिकालदेखि नै मानिसहरुले मानिसकै विरुद्ध अनेकौं हिंसात्मक लडाइँहरु लड्दै आइरहेको छ । यो लडाइँको आधारलाई केलाएर हर्ने हो भने मानिसको भेँडापन नै यसको लागि दोषी रहेको छ । मानिसहरु प्राचीन कालदेखि वर्तमान कालसम्म पनि धर्म, जात, भाषा, वर्ग, दल, वर्ण, राष्ट्र र क्षेत्र आदिको नाममा एक अर्कालाई मार्न र मर्न कम्मर कसेर लागिपरेको छ । मानिसलाई आफ्नो व्यक्तिगत हैसियत भन्दा पनि सामूहिक हैसियत बढी नै प्यारो लाग्ने गरेको छ । त्यसैले मानिसको मित्रता र शत्रुताको आधार पनि व्यक्ति भन्दा पनि बढी समूह नै हुने गरेको छ । मानिसले यसरी नै समूहको पछि लागेर कयौँ निर्दोष मानिसहरुको ज्यान लिइरहेको छ ।
वास्तवमा गहिरिएर बुझ्ने हो भने त एक मानिस कुनै पनि जात, धर्म, भाषा, वर्ग, वर्ण वा दलमा पर्नै सक्दैन । ऊ एक स्वतन्त्र व्यक्ति हो र उसलाई कुनै पनि वर्ग या समूहमा राख्नु भनेको उसको लागि घोर अपमानको विषय हो । मानिसले आफ्नो व्यक्तिगत अस्तित्वलाई अस्वीकारी समूह र झुण्डको पछि लाग्नु भनेको उसको लागि आत्महत्या गरे जस्तै हो । युगौँदेखि मानिसले एकार्काको सिको गरेर व्यक्तिगत अस्तित्वको सर्वनाश पारिरहेको छ । यसको मतलव ऊ भेँडाझैँ अन्य भेँडाको पछि लागेर भीरबाट हामफालि नै रहेको छ निरन्तर निरन्तर । मानिसले आफ्नो व्यक्तिगत भन्दा सामूहिक अस्तित्वलाई प्राथमिकता दिनु भनेको उसले आफ्नो शक्ति, सामथ्र्य र प्रतिभालाई ओझेलमा पार्दै भेँडा हुनलाई सहर्ष राजी हुनु सरह नै हो । आफ्नो निश्चित समूह या दलमा प्रचलित मान्यता मात्रै अन्धानुकरण गर्दै आफ्ना सारा बुद्धि, विवेक माथि बिर्को लगाउनाले नै आज मानिस उसको नजरमा आफू इतर समूहको लाग्ने सबैलाई जस्तोसुकै हिंसा गर्न पनि उद्दत रहेको छ । चाहे त्यो समूहको मानिस जतिसुकै निर्दोष र निर्बल किन नहोस् । यसको ज्वलन्त उदाहरणका लागि रुआण्डामा सन् १९९४ मा लाखौं निर्दोषहरुको ज्यान जाने गरी भएको जातीय हिंसा, केन्याको वेस्टगेटमा धर्मको नाममा गरिएको निहत्था र निर्दोष मानिसहरुको हत्या अनि यस्तै जाति र धर्मका नाममा संसारभरि नै भइरहेको लडाइँहरु हेर्दा यी केही गरी पनि एक विवेकशील मानव जातिले गर्न सक्ने काम हुँदै होइन । हिंस्रक भन्दा पनि हिंस्रक पशुले पनि आफ्नो केही हानी नगरी अरु कसै माथि पनि आक्रमण गर्दैन । तर भेडो मानवजातिले अनादिकालदेखि नै यस्तै विभिन्न बहानामा निर्दोष, निहत्था नागरिकहरुको कत्लेआम गर्दै आइरहेको छ । यसरी आफ्नो व्यक्तिगत मर्यादालाई बन्धकमा राख्दै कुनै पनि निश्चित जाति, धर्म, वर्ण, वर्ग या राष्ट्र र क्षेत्रभित्रको झिनो र भ्रमपूर्ण रेखाभित्र आबद्ध रहन रुचाउनु भनेको मानिसहरुले आफ्नो निहीत प्रतिभा र क्षमतालाई आफ्नै हातले नष्ट पार्नु मात्रै हो । तर अफ्शोचको कुरा त यो छ कि मानिसले यसो गर्नुमा नै आफ्नो महान् पुरुषार्थ ठानिरहेको छ । अधिकतम मानिसहरु यसै भ्रमपूर्ण घेरामा बाँधिएर आफ्नो व्यक्तिगत अस्तित्वलाई नामेट पारिरहेका छन् ।
मानिसको दैनिक क्रियाकलापलाई नियालेर हेर्न हो भने पनि मानिस आफ्नो प्रत्येक गतिविधिमा ऊ भेँडो नै भइरहेको हामी सहजै आंकलन गर्न सक्छौं । परापूर्व कालदेखि नै मानिसहरु भगवानलाई पूजा गर्ने नाममा मन्दिर, मस्जिद या चर्च जाने गरिरहेको पाइन्छ । केवल एक चलन र परम्पराको रुपमा मात्रै । आजसम्म मन्दिर मस्जिद गएर कसैले न त देवी देवताको दर्शन नै पाएको छ न न कुनै दैवी लाभ नै प्राप्त गरेको छ तैपनि मन्दिर मस्जिद जाने क्रममा कति पनि कमि आएको छैन नि । यस्तो किन भइरहेको छ त ? मानिस भेँडा हुनुको अर्को ज्वलन्त नमूना होइन र यो ? मन्दिर, मस्जिद गएर कसैले भगवानको दर्शन र वर पाएको छैन नि तथापि ऊ भेँडाझैँ अर्काको सिको गर्दै प्रत्येक दिन मन्दिर या प्रत्येक आइतबार चर्च जान छाड्दैन । यो मानवजातिका लागि मात्र हास्यास्पद र अत्ति लज्जास्पद कुरा हो तर भेँडो मानिस त्यसैलाई दोहो-याइरहेको छ – हर दिन हर घडी । त्यसैगरी मानिसलाई आफू जुन समुदायमा जन्म्यो, त्यही समुदाय सर्वोत्कृष्ट लाग्ने गर्दछ । हिन्दूलाई हिन्दू समुदाय, मुसलमानलाई मुसलमान अनि इसाईलाई इसाई नै राम्रो लाग्ने गर्दछ । यसरी आफ्नो विवेकको प्रयोग नगरी आफू जुन समूहमा प¥यो त्यसैको वकालत गर्दै हिंड्नु भनेको मान्छेले आफू भेँडोको घेराबाट बाहिर निक्लिन नखोज्नु नै हो । आज जो मानिस अल्लाहको नाममा ज्यान दिन तयार छ त्यही मानिस इसाइ परिवारमा जन्मेको भए इसामहिस या क्रसको नाममा ज्यान दिन तयार हुन्थ्यो । यसको मतलब त यही हो कि उसको छनौट उसको परिवारले पहिल्यै तय गरिदिइसकेको छ र उसको विवेकको कुनै अर्थ नै रहेन । सबै मानिस यसरी नै परिवार, परम्परा संस्कार आदिका पछि भेँडा जस्तै लागिरहेको भान हुन्छ ।
आज मानव समाजमा भइरहेको प्रतिस्पर्धा र आपसी खिचातानीलाई हेर्ने हो भने पनि मानिसले प्रतिपल अर्काकै पछि लागेरै व्यर्थैमा आफ्नो मेधा, मेहनतको घोर दुरुपयोग र क्षति गरिरहेको छ । जसरी हुन्छ अरुभन्दा अघि पर्ने, अरुलाई उछिन्ने चाहे त्यो धनदौलतकै संकलनमा होस् या पद र प्रतिष्ठाकै दौडमा किन नहोस्, मानिसको परिश्रम र लगानीको आधारशीला ऊ आफै नभई अन्य दोस्रो या तेस्रो व्यक्ति बन्ने गर्दछ । फलानाले चार तल्लाको घर बनाई सक्यो मैले पाँच तलाको किन नबनाउने ? तिलनाले करोडौँ कमाइसक्यो आफूले कहिले कमाउने ? अर्काले डाक्टर पढिसक्यो, आफू कहिले पढ्ने ? यसरी मान्छे आफ्नो जरुरत, आवश्यकता र सामथ्र्य भन्दा पनि अरुकै देखासिकी गर्दै र अर्कालाई देखाउनकै लागि मात्रै पनि आफ्नो सारा समय, शक्ति मात्र होइन जीवन नै दाउमा लगाउन पनि पछि पर्दैनन् । बबूरो मानिस कति पनि सचेत छैन कि उसले आखिर यो सबै किन र कसको लागि गरिरहेको छ भनेर । अर्काकै देखासिकी, लहैलहै र अनावश्यक प्रतिस्पर्धामा उत्रेर मानिस खाई, नखाई भोलिको लागि करोडौँ कमाउने होडमा लागेर आजको सुवर्ण समयलाई त्यत्तिकै खेर फालिरहेको छ । औसत मानिसहरु त्यो भोलिको कपोलकल्पित सुख र सम्पन्नताले भरिएको दिनको मुखै देख्नै नपाई अर्थहीन संघर्ष गर्दागर्दै यो संसारबाट सदाका लागि बिलाउन पुग्दछन् । यसरी आज अरबौँ मानिसहरु धन, दौलत, नाम र प्रतिष्ठाको पछि पछि जिउज्यानै लगाएर कुदिरहेका छन् । यस्तो देख्दा लाग्छ कि मानिस अचेतमै भेँडा जस्तै भीरबाट हामफालिरहेका छन् ।
मानिसले वास्तवमै सर्वोत्कृष्ट प्राणी बन्ने हो भने उसलो यो भेँडा प्रवृति त्याग्नै पर्दछ । मानिसलाई कुनै दल, समूह, जात, धर्म या वर्णको सदस्यको रुपमा भन्दा पनि एक आफैमा पूर्ण व्यक्तिको रुपमा सम्मान र स्वीकार गर्न सिक्नु पर्दछ । मानिस यो संसारमा कुनै पनि समूहमा जबर्जस्ती घिच्चिनका लागि आएको होइन बरु ऊ त आफै एक स्वतन्त्र व्यक्तिको रुपमा व्यक्तिगत दायित्व पूरा गर्नकै लागि आएको हो । जसरी एक बिउलाई रोपेपछि त्यसबाट सुन्दर फूल र फलसहितको वृक्ष तयार हुन्छ । त्यसैगरी प्रत्येक व्यक्तिमा पनि आफ्नै विशिष्ट योगदान दिन सक्ने क्षमता र सम्भावना रहेको हुन्छ तर हामीले जन्मेदेखि नै उसलाई धर्म, संस्कार, परम्परा आदिको नाममा आफ्नै अन्धप्रवृति लाद्दै उसमा रहेको प्रतिभाको हत्या गर्दै अन्ततः उसलाई आफू जस्तै अचेत भेँडामा परिणत गरिदिन्छौं । एक बालक ऊ आफ्नै रुपमा हुर्कंदै, बढ्दै, फुल्दै फक्रँदै आफ्नै विशिष्ट फल र फूलको रुपमा विकसित हुनका लागि यो धर्तीमा अवतरण गरेको हुन्छ तर उसको सारा सम्भावनालाइै मार्दै उसलाई हामीले आफू जस्तै कृत्रिम रबरको सौन्दर्य र सुगन्धविहीन फूलमा परिवर्तन गरिदिन्छौं । त्यसैले त आज प्रत्येक मानिसको जिन्दगि यति रुखो, उदास, उजाड र निरस भएको हो ।
यदि यो संसारमा साँच्चै सुख शान्ति, प्रेम र अमनचयनको स्थापना गर्ने हो भने सर्वप्रथम प्रत्येक मानिसले भेँडा बन्न र बनाउन अस्वीकार गर्नुपर्दछ । प्रत्येक अभिभावक र शिक्षक शिक्षिका अनि समाजका सदस्यहरुले आफ्नो बच्चाहरुप्रति अत्यन्तै इमान्दार बन्नु जरुरी छ । आफूलाई अर्थहीन र अस्पष्ट लागेका कुराहरु बालबालिकालाई सिकाउनु र लाद्नुको बदलामा उसलाइै आफ्नै चेतना र विवेकको प्रयोग गर्न सिकाउनुपर्दछ । सबै प्रतिस्पर्धाहरु अस्वस्थ नै हुन्छन् । आफ्नो बच्चालाई अरुको देखासिकी गर्ने र अरुसँग दाँज्ने बानी त्यागेर उसको आफ्नै निहित विशिष्ट प्रतिभालाई फुल्ने र फक्रने मौका दिनुपर्दछ । यसो गरेमा मात्र हामीले सही अर्थमा उनीहरुप्रतिको जिम्मेवारी र दायित्व पूरा गरेको ठहरिनेछ । यो जगतलाई आज अन्धानुकरण गर्ने भेँडा होइन वास्तवमै सर्वोत्कृष्ट र विवेकपूर्ण मानिस चाहिएको छ । यस्तो विवेकशील व्यक्तिबाट मात्र यो संसारको सकारात्मक रुपान्तरण सम्भव छ ।
(स्रोत : सत्यतथ्य मासिकको वर्ष २, अंक ३ डिसेम्बर २०१३)