कविता : कहाँ होला सपनाको फूलबारी ?

~मणि भट्टराई~mani-bhattarai

म किन हराएँ यसरी ?
कसरी कहाँ हराएँ ?
जीवन खोज्न भनेर जीवनको जंगलमा
कता पुगिरहेछु म ?
के होला उदेश्य यसरी दौडनुको ?
के होला रहस्य यसरी भौतारिनुको ?
कहाँ होला उपलब्धीको शिखर
जहाँ पुग्न कुदिरहेछ यो जिन्दगी !

श्रीमतीको मुस्कान समात्न नसकेको बर्षौ भयो
छोराछोरीको गति पछ्याउन नसकेको उति नै भयो
म कुन जंगलमा आइपुगें ?
कसरी र किन हराएँ यहाँ ?
बाल्कोनीबाट बाले बोलाए होलान्
कति साँझ बेलैमा घर नफर्केकोमा
आमाले उदाश उदाश
दैलोमा चुकुल लगाइन् होला
सुतेर पनि निदाउन नसकेका
अनेकौ रातहरू होलान् आमाका पोल्टामा !

उफ् ! कति व्यस्त यो जिन्दगी !
यो ब्यस्तता उग्राएर कुनै फुर्सदमा
जीवनको स्वाद निकाल्ने क्षण कहाँ होला ?
कहाँ होला खुसीको बगैंचा
जहाँ पुग्न दौडिरहेछ यो मन ?

कतै त्यो,
मैले हेर्न नभ्याएको
आफ्नै श्रीमतीको अनुहारमा त विलाएर गइरहेको छैन ?
कतै त्यो,
मैले सम्हाल्न नभ्याएको
आफ्नै नानीहरूको उपद्रोमा त हराएर गइरहेको छैन ?
बाको दाँतसँगै खसिरहेको पो छ कि ?
आमाको केशसँगै झरिरहेको पो छ कि ?
अलिकति त
छिमेकी दाइसँगै बसाईँ सरेर पो गयो कि ?
अर्थात्,
आफ्नै आँखाको डिलमा चाउरी परेर पो जाँदैछ कि ?
कहाँ होला सपनाको फूलबारी ?
जहाँ पुग्न उडिरहेछ यो मन ?

मणि भट्टराई
हाल : अमेरिका

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.