~ईशा शाह~
‘मुग्धा ! किचनबाट फर्किदा तातो पानी लिएर आऊ है ।’ आयुषले भन्यो ।
‘किन चाहियो हजुरलाई तातो पानी ? अघिपछि रुघाखोकी लाग्दा तातो पानी पिउनुभन्दा स्वाद हुन्न भन्ने मान्छे हजुर, आज किन तातो पानी ल्याउन भन्दै हुनुहुन्छ हजुर ? कि अर्कै सुरसार छ ?’
‘कति खोजीनीति पर्छ हगी तिमीलाई ? ल्याऊ भनेपछि सानो थर्मसमा एक थर्मस तातोपानी ल्याऊ न, कति दिनदेखि खोकेको देखेर पनि … !’
‘भन्दा नमान्नेलाई कति भन्नु ?’
‘अब मान्छु ल्याऊ है ।’
‘एउटा कुरा सोधुँ ?’
‘के कुरा ?’
‘अघि चन्द्र दाईको पसलबाट हजुरले रक्सी किनेर ल्याएको हो ?’
‘ल्याएको भए त देखिहाल्थ्यौ नि !’
‘खल्तीमा के हालेको हो मैले उति भेउ पाइनँ, अघि हजुर खाना खान जाँदा खल्ती छामछुम पारेको केही पनि पाइनँ, टेबलमा भुटेको काजु छ, हजुरको पारा देख्दा त… ! मलाई दुःख नदिनु है ।’
‘पानी ल्याऊ भनेको, नल्याउने भए ल्याउन्न भनन म आफैँ गएर ल्याउँछु । नाथे तातोपानी ल्याउनभन्दा पनि … ! यसै भएन उसै भएन टन्न पिउँछु । जति गरे नि नहुने, उसै शंका गरेर कचकच गरेको छ ।’ भन्दै आयुषले झोक पोख्यो ।
‘नरिसाउनुस् न ।’
‘नरिसाउन खोजेको त हो नि तिमीले रिस उठाइरह्यौ, अब रिसाउँछु ।’
‘रिसाए हजुरकै अनुहार हाँडी बन्छ, कालो त छँदै थियो अब हाँडी पनि बन्ने भयो ।’
‘मुग्धा म रिसाउँदै छु ।’ आयुषले भन्यो ।
‘हस्, रिसाउनु होस् म तातो पानी लिएर आउँछु ।’ भन्दै मुग्धा भान्छातिर लागी ।
ऊ गएपछि आयुष ट्वाइलेटभित्र पस्यो र केही बेरमा निस्कियो ।
‘कति बेर लगाएको ?’
‘बन्दोबस्ति गर्दै थिएँ, अहिले पिएपछि फेरि … !’
‘अनि अघि … !’
‘आज एउटा साथीले मैले धेरै दिनदेखि खोकेको देखेर रममा तातोपानी हालेर पिउनु भन्यो त्यसैले … !’
‘ए मैले डाक्टर देखाउन जानु धेरै दिन भइसक्यो खोकी लागेको इन्फेक्सन होलाभन्दा नटेरेर ठीक हुन्छ भन्दै हेलचेक्रयाइँ गर्ने हजुर, साथीले रम पिउभन्दा चाँही … ! गन्हाएर सुत्न सक्दिनँ, पिउने भए यतै सोफामा सुत्नू ।’ मुग्धाले रिसाउँदै भनी ।
‘जो आज्ञा हजुर, म आदेशको पालना गर्नेछु ।’ भन्दै आयुषले छातीमा हात राखेर निहुरियो ।
मुग्धा फन्किएर बिछ्यौना भए तिर गई । आयुष आरामले पिउन बस्यो ।
(स्रोत : सौर्य दैनिक)