कविता : झुप्राको अगेनामा बलेनन् आगो

~वैरागी जेठा~bairagi-jetha

मेरो खरको झुप्राको अँगेनामा
कुनै आगाका लप्काहरू छैनन्
क्रान्ति स्थापना भएपछि
मेरो खरको झुप्रामा छिरेको छु
वर्दीधारीहरूको एक्कासी हमलाले
मेरो घाउ बल्झिएको छ
मूर्ख मानिसहरू
आमालाई वदनाम गर्न
भोटहाल्न दगुरिरहेछन्
हाम्रा तन्नेरीहरू बाटो रोक्न
आरनको ज्वालाझैँ उठिरहेछन्
शहीदको रगतमा
विक्षिप्त शपथग्रहण गरेर
मेरी आमाका आँचल च्यातिरहेछन्
अनेकौँ षड्यन्त्रका जाल बुनेर
चुनाव जित्नु अघिनै
फुलका माला भिरेर
नयाँ काजि डिठ्ठाहरू
मोति विन्दु लगाएर
मलाई ठुँगिरहेछन्
मेरी आमाको सपना यो थिएन
प्रवाहित आँसु
भोल्गा भएर उम्लिन्छ
कहिल्यै नसिद्धिने लडाईँ
म लड्न बाध्य छु
मेरो खरको झुप्रामा
किसानहरू व्यस्तछन्
आगो फुक्न
म गम्भीरतापूर्वक भनिरहेछु
मेरी आमाका छातीहरू
बगरेले काटेका मासुका टुक्राझैँ
टुक्रा टुक्रा हुने भो
विउँझेको छु यतिवेला
कर्णालीको जंघारमा
अरूण आएर मसँग
धुरुधरु रोयो
नेपाली सामाजिक परा काष्ठाको
काल्पनिक देश
साँच्चिकै नरहने भो
राजनीति नबुझेर
भौँतारिरहेछु म
फटाहामानिसहरूको हुलसँगै
मेरी आमाका गहनाहरूबाट
निस्केको झनझनाहटको
सपना देखिरहथेँ
अब ती सपनाहरू
खहरे खोला भएको छ

विद्रोहीहरूको गीतार बोकेर
चुनाव बहिस्कारमा उत्रेको छु
प्रस्फुटित सुम्निमाका संगीत लिएर
क्रान्तिको आरन बालिरहेछु
मैले थुप्रै शरद शिशिर
बिताइसकेको छु
कष्ट सन्तापले
अड्कोपड्को तेलको धूप सल्काएर
म मेरो खरको झुप्रोमा छिरेको छु
चुनाव बहिस्कार गर्न
औँलो दिँदा डुँडुलो निल्ने मानिसहरू
मेरी आमाका आँचल बेच्न हतार छन्
रफ्फूचक्कर नेताहरू
छेकारो काट्छन्
मथिङ्गलमा भार पर्छ
मेरो चिल्ली बिल्ली उडाउँदै
गरिएको चुनावमा
मेरो सहमत छैन
रुग्ण र गरीब म
मखमलीको फूल लिएर
मेरो आँगनमा उभिएको छु
नयाँ जिम्वालहरूको आगमनले
मेरो मुटु चिरिन्छ
विद्रोही युवायुवतीको लस्करले
नौलो संगित जुट्ने छ र
जुटिरहने छ
मेरी आमाका अश्रु रत्नहरू
चुनाव वहिस्कार गर्न उठिरहेछन्
तानाशाहले
छेउ लगाइएकि मेरी आमा
मेरो जीवन भिजाइरहेछिन्
वषैाँ वर्षसम्म
कसरी सहुँ म
कसरी हालुँ भोट
नयाँ जिम्वालहरूलाई
पुराना डिठ्ठाहरूले डसेका घाउहरू
यतिखेर बल्झिरहेछ
सिमा प्रदेशतिर फर्किरहेका
मेरा चेलीहरूलाई
म देखि रहेछु
सामन्तहरूले
हुत्याइएको पिङझैँ हुत्याइरहेछन्
मेरा दाजु भाइहरूलाई
ऊ मूर्ख बनाइरहेछ
मलाई
जसलाई सम्मान गर्थेँ
आज स्मृति भएको छ
मेरी आमा माथि
मैले शोक प्रकट गरिरहेछु
मेरी आमा बेच्नेलाई
देखेर आमाको आकृतिलाई चुमे
मेरी आमाकी प्रकृतिलाई
बाहिर राख्न सक्दिन म
त्यसैले
विद्रोहमा निस्केको छु
झुप्राको घर बाट
प्रतिस्पर्धाको डर नमानी
नेताहरूसँग ठयाक नमिल्दा
म वहिस्कारमा उत्रेको छु
पाउन सकिरहेको छैन मैले खोजेको न्याय
शासकहरूसँग विदा लिएर

चुनाव वहिस्कारमा उत्रिएको छु
वरपिपलको चौतारीमा सुसेल्दै
राजनीति शिकार खेल्दै
उवामा आइपुगेको छु
आमाका कृतिहरू जोगाउन ।

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.