~आचार्य प्रभा~
ढुङ्गाको मन बोकेर पर्देशिएका हामी
बाध्यताको बन्धनले बाँधिएका छौं ,
भन्छन,
भन्नेहरु सजिलैसँग देशलाई भुल्यौ
पैसाको मोहमा फँस्यौ
त र….. त्यसो हैन,
केवल जिजीबिषाको लडाइँ लड्न मात्र
हामी पर्देशिएका छौं
किनकी आफ्नो भूमिको बाँझोपनको
रमिते मात्र भएर कहाँ हुन्छ हामीले ?
आफ्नी आमाको काखलाई बचाउन पनि त
केही जोरजाम गर्न पर्यो कसैले /
खै त हामीलाई त्यो अवसर ?
जो जती बाँचिरहेछन् आफ्नो देश भनेर
शायद….. सहिरहेकाछन् उनिहरुले पनि
बिवसता र आत्माग्लानिका प्रहारहरु ,
बितिरहेका होलान मनभरी
डर,त्रास,भयका पलहरु
तर बाध्यता हो उनिहरुको पनि
आफ्नै आमाको काखमा
असुरक्षित भोगाइहरु भोग्न
अनी मेरो देश भन्ने मोहमा फँस्न
तर…… हामी दुवै पक्ष नै
बिवसताको जंजिरमा बाँधिएका छौं /
एकातिर स्वाभिमानको फोस्रो नारा
छात्तिमा टाँसेर आफ्नै देशमा
पराइ बन्नु पर्ने बाध्यता छ भने
अर्कोतिर देशको माया मनभरी साँचेर
पराइभूमिमा छट्पटिनु पर्ने
बिवसता पनि छ ,
तर जो जहां होस्,
आफ्नी जननीको मायामा नै बिचलित छ
बस….. एउटै बाध्यता छ
सबैले जिजीबिषाको लडाइँको निम्ती
बाँच्नु छ ,जहा भएपनी जे भए पनि ।
(अमेरिका)
(स्रोत : कविता कुसुम)